रोकिनुपर्छ स्वास्थ्यकर्मीमाथिको हिंसा

शनिबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

विश्व स्वास्थ्य संगठनका अनुसार ३८ प्रतिशत स्वास्थ्य सेवाकर्मीले आफ्नो करिअरको कुनै न कुनै समयमा कुनै न कुनै प्रकारको शारीरिक हिंसा भोग्छन्, जुन प्राय: बिरामी र आगन्तुकद्वारा गरिन्छ । यसले कामदारलाई मात्र होइन, उनीहरूले सेवा गर्ने जनसंख्याको स्वास्थ्यलाई पनि हानि पुर्याउँछ । यसै ग्रीष्म मौसममा नाइजेरियाको योबे राज्यको विशेषज्ञ अस्पताल दामातुरुमा चिकित्सा हेरचाहको प्रावधानबारे विवाद हुँदा एक पुरुष बिरामीले एक महिला स्वास्थ्य सेवाकर्मीलाई हातपात गरे । दु:खको कुरा, यो नाइजेरियाका स्वास्थ्य सेवाकर्मीहरू विशेष गरी महिलाहरूका लागि अपेक्षाकृत सामान्य अनुभव हो । कादुना राज्य र अबिया राज्यका अस्पतालमा गरिएको सर्वेक्षणले पत्ता लगाएको छ कि क्रमश: ६४ प्रतिशत र ८८  प्रतिशत स्वास्थ्यकर्मीले कार्यस्थलमा हिंसा भोगेका थिए । नाइजेरियामा क्लिनिकल अभ्यासका क्रममा मेरो आफ्नै पहिलो वर्षको समयमा (जतिवेला म केवल २४ वर्षको थिएँ) बालबालिकाको वार्डमा ड्युटीमै रहँदा एक अभिभावकले मलाई आक्रमण गरे ।

नाइजेरिया एक्लो छैन । अस्ट्रेलिया, चीन, चेक गणराज्य, फ्रान्स, जर्मनी, पोल्यान्ड, स्लोभाकिया, स्पेन, टर्की, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकालगायत विभिन्न देशमा विगत पाँच वर्षमा स्वास्थ्य सेवाकर्मीविरुद्ध हिंसाका रिपोर्ट बढ्दै गएको छ । २०१९ को एक अध्ययनले देखाएको छ कि इटालीका ११ प्रतिशत नर्सले अघिल्लो वर्ष काममा शारीरिक हिंसा भोगेका थिए र ४ प्रतिशतलाई बन्दुकद्वारा हमला गर्ने धम्की दिइएको थियो । लगभग आधा नर्सहरूले गालीगलौजको अनुभव गरेको रिपोर्ट गरे ।

यस्तो रिपोर्टिङले कथाको केही अंश मात्र बताउँछ । २००४ मा ममाथि आक्रमण भयो । अर्को बिरामीको आफन्तले तत्कालै गरेको हस्तक्षेपको कारणले टाउकोमा गम्भीर चोटपटक लाग्नबाट जोगिएँ । अपराधीको परिवारप्रति मेरो सहानुभूति रह्यो । जसका कारण कानुनी अभियोजनबाट उनीहरू बचे । स्वास्थ्य सेवा क्षेत्रमा हुने हिंसाका पीडितमध्ये आधाभन्दा कमले घटना सार्वजनिक गर्ने सम्भावना छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य सेवाकर्मीमध्ये ३८ प्रतिशले आफ्नो करिअरको कुनै न कुनै समयमा कुनै न कुनै प्रकारको शारीरिक हिंसा बिरामी र आगन्तुकबाट भोग्न बाध्य हुन्छन् । यो तथ्यांकले मौखिक धम्कीलाई समेट्दैन ।

अस्पतालमा स्वास्थ्यकर्मीमाथि हुने हिंसामा धेरै कारण छन् । स्वास्थ्य सेवाकर्मी प्राय: युवा महिला हुन्छन् । उनीहरूले लागु पदार्थ वा मदिरा सेवन गरेका व्यक्ति र मानसिक रोगबाट पीडित व्यक्तिसहित सामान्य जनताका लागि पहुँचयोग्य वातावरणमा दिनरात खटिनुपर्छ । यसबाहेक, कर्मचारी र स्रोतसाधनको अभावले स्वास्थ्य सेवाकर्मी प्राय: बढी काम गर्छन्, कम तलब पाउँछन् र गुणस्तरीय वा समयमै हेरचाह प्रदान गर्न आवश्यक उपकरणमा पहुँचको अभाव हुन्छ । लामो समय पर्खिनुपर्ने भएकाले बिरामी र उनीहरूका आफन्तमा तनाव र निराशा बढाउँछ । बिरामीका आफन्तले प्राय: चमत्कारको आशा गर्छन् जबकि बिरामीहरू रोगले च्यापेपछि मात्र अस्पताल आउँछन् । कमजोर सञ्चार र कार्यस्थलमा हुने सुरक्षाको कमीले निरन्तर हिंसाको जोखिम बढ्छ ।

स्वास्थ्य सेवाकर्मीहरूका लागि जोखिम विशेष गरी विपत्, द्वन्द्वका परिस्थितिमा तीव्र हुन्छ, जहाँ तिनीहरू राजनीतिक वा साम्प्रदायिक हिंसाको निसाना पनि बन्न सक्छन् । कोभिड– १९ महामारीको समयमा भाइरसको बारेमा गलत जानकारी हुँदा हिंसामा तीव्र वृद्धि गर्यो । 

यी अनुभवहरूको परिणामस्वरूप, स्वास्थ्य सेवाकर्मीहरूले प्राय: चिन्ता, डिप्रेसन, जागिरबाट थकान, पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर, र अन्य मानसिक स्वास्थ्य अवस्थाको सामना गर्छन् । कार्यस्थलमा हिंसाबाट पीडित लगभग ७६ प्रतिशत नर्सहरूले पछि डिप्रेसनका लक्षण अनुभव गरेको एउटा अध्ययनले पत्ता लगाएको छ । स्वास्थ्यकर्मीहरूको सुरक्षा घट्दै जाँदा बिरामीहरूले पाउने हेरचाह पनि घट्छ । विशेष गरी कम मानिसहरूले स्वास्थ्य सेवाक्षेत्रमा प्रवेश गर्न खोज्दा स्वास्थ्यकर्मीको बढ्दो अनुपस्थितिले समस्यालाई जटिल बनाउँछ । विश्वले स्वास्थ्य सेवाकर्मीको अभावको सामना गरिरहेको वेला २०३० सम्ममा यस्तो अभाव दश लाख पुग्ने अनुमान गरिएको छ– यसले सार्वजनिक स्वास्थ्यलाई प्रत्यक्ष खतरा निम्त्याउँछ ।

स्वास्थ्य सेवाकर्मीको सुरक्षाका लागि विभिन्न हस्तक्षेप आवश्यक पर्नेछ । सुरुमा, हिंसा रोकथाम गर्न कामदारको शिक्षा र तालिममा एकीकृत गर्नुपर्छ । उनीहरूलाई तनावपूर्ण परिस्थिति कम गर्न सञ्चार रणनीति र हिंसा भड्किएमा आत्मरक्षा प्रविधि सिकाइनुपर्छ । यसबाहेक, विद्यमान कामदारलाई सुरक्षा गर्ने कानुनको दायरा र कार्यान्वयन बढाउनुपर्छ । संस्थाहरूले कार्यस्थल सुरक्षाको अनुगमन, घटनाहरूको रिपोर्टिङ र अनुसन्धान गर्न र अपराधीविरुद्ध कानुनी कारबाही गर्न स्पष्ट प्रोटोकलसहित शून्यसहिष्णुता दिशानिर्देश लागू गर्नुपर्छ । विशेषज्ञ अस्पताल दामातुरुमा हालै भएको आक्रमणपछि अपराधीको द्रुत गिरफ्तारी र अभियोजनले निवारकको काम गर्न सक्छ । प्रशिक्षित सुरक्षा कर्मचारीहरूलाई भर्ना गर्नाले पनि मद्दत गर्नेछ, साथै भरपर्दो सञ्चार प्रणालीको कार्यान्वयनले पनि काम गर्नेछ ।

यसैबिच, स्वास्थ्यकर्मीको अभावलाई सम्बोधन गर्न ठोस प्रयास गरिनुपर्छ । जस्तै कार्य स्थानान्तरण वा साझेदारीमार्फत कम योग्य कर्मचारीलाई निश्चित जिम्मेवारीको आंशिक वा पूर्ण पुनर्वितरण गर्ने ताकि उच्च योग्य कामदारहरूले आफ्नो विशेषज्ञता आवश्यक पर्ने कार्यमा ध्यान केन्द्रित गर्न सकून् । यस दृष्टिकोणले पहिले नै २३ उपसहारा अफ्रिकी देशहरूमा एचआइभी/एड्स, क्षयरोग, उच्च रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य, आँखा हेरचाह, मातृ तथा बाल स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, र आपत्कालीन हेरचाहसहित धेरै क्षेत्रमा सेवा वितरणमा सुधार ल्याएको छ । सबै मानिसलाई आफ्नो कार्यस्थलमा सुरक्षाको अधिकार छ । जब हामी स्वास्थ्य सेवाकर्मीहरूका लागि यो अधिकार कायम राख्न असफल हुन्छौँ, हामीले उनीहरूलाई मात्र होइन, उनीहरूले सेवा गर्ने जनताको स्वास्थ्यलाई पनि हानि पुर्याउँछौँ ।

(अदाइज ओरेह नाइजेरियाको रिभर्स स्टेटमा स्वास्थ्य आयुक्त, कोफी अन्नान ग्लोबल हेल्थ लिडरसिप फेलो र एस्पेन ग्लोबल इनोभेटरकी सिनियर फेलो हुन् । ‘प्रोजेक्ट सिन्डिकेट’बाट सुभाष शर्माको अनुवाद ।)

सुझावित समाचार