नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मानव सेवामा सवै समर्पित हुनुपर्ने बताएका छन्। मानवसेवा आश्रम बागलुङले शुक्रबारदेखि सञ्चालन गरेको श्रीमदभागवत ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्दै ढकालले उद्योगी व्यापारीलगायत आमसर्वसाधारण सबै मानव सेवामा समर्पित हुनका लागि आग्रह गरेका छन्।
उनले विभिन्न संघसंस्थासँग सहकार्य गरेर मानवीय सेवामा आफू पनि समर्पित हुने बताए । ढकालले आफ्नो जन्मभूमि बागलुङमा सडकमा आश्रित मानवका लागि आश्रयस्थल निर्माणजस्तो पवित्र कार्यमा आफू सहभागी हुन पाएको भन्दै यसमा व्यक्तिगत र संस्थागत रूपमा देखिने गरी सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
‘म मेरो जन्मभूमिमा छु, आफ्नो जन्मभूमि आफूलाई गर्व लागेर आउँछ। यहाँ ठुलो पुण्यको काम भएको छ,’ ढकालले भने, ‘यो पुण्यकर्ममा म देखिने गरी सहयोग गर्नेछु, कालीगण्डकीको काख, मुक्तिनाथ र दामोदर कुण्डनजिकमा निर्माण हुन लागेको मानवसेवा आश्रम भवन निर्माणका निम्ति सबैको साथ र सहयोग आवश्यक छ, सबैले हातेमालो गरौँ ।’
उनले आश्रमको भवन निर्माण सम्पन्न गर्न र अन्य आवश्यक पूर्वाधार बनाउनका निम्ति सबैको सहयोग आवश्यक रहेको बताए । ढकालले जुन उद्देश्यले महायज्ञको आयोजना गरिएको छ त्यो सफलता मिल्नेमा आफूले विश्वास लिएको बताए।बागलुङ नगरपालिका– ४, निरहेघाटमा निर्माणाधीन अवस्थामा रहेको भवन निर्माणको काम पूर्णता दिन र १० करोडको अक्षयकोष स्थापनार्थ महायज्ञको आयोजना गरिएको हो।
महायज्ञमा हालसम्म एक करोडभन्दा बढी रकम संकलन भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले जानकारी दिए। महायज्ञ आगामी २८ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ उद्घाटनअघि बागलुङ बजारदेखि महायज्ञस्थल तथा मानवसेवा आश्रम भवन निर्माणस्थल बागलुङ नगरपालिका– ४, निरयघाटसम्म शोभा कलशयात्रा गरिएको थियो। कलशयात्रा लोकतान्त्रिक चोकबाट सुरु भएर जिपपार्क, नगर खानेपानी, राइटरचोक, शिवधारा हुँदै देउराली चोक, विद्या मन्दिर, नारायणचोक, लालीगुँरासचोक, गोदामचोक, बुद्धचोक, अदालतरोड, अस्पतालरोड, मरेपीपल र लाम्पाटा हुँदै निरयघाटस्थित महायज्ञस्थलमा समापन भएको थियो ।
कलशयात्रामा देउराली आमा समूह नौमती बाजा, नवजागृति आमा समूह, कालिका आमा समूह, शुक्लेश्वरी ज्ञानज्योति आमा समूह, एकल आमा समूह, धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानलगायतका विभिन्न समूहहरूको सहभागिता रहेको यात्रामा धार्मिक झाँकी, बाजागाजा र विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो।