उदयपुरमा एक अपरिचित पुरुष फेला परेका छन् । उनी गएको बिहीबार राति मदन भण्डारी लोकमार्गको उदयपुरको त्रियुगा नगरपालिका– ८, शाहीखोला पुलमा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सडकमा अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि तत्काल प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि ल्याउँदा मृत्यु भइसकेको चिकित्सकहरूले जानकारी दिएका थिए ।
मृत फेला परेका पुरुषको शव जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखी प्रहरीले अनुसन्धान अघि बढाएको एसपी चापागाईंको भनाइ छ । मृतको नाम, ठेगना, पहिचान नभएको प्रहरीको भनाइ छ ।
मृतकको हुलियाअनुसार ५०–५५ वर्षको पुरुष छन् । खैरो कलरको भेस्ट, निलो कलरको हाफपाइन्ट लगाएको, पहाडे मूलको जस्तो देखिने, मंगोलियन अनुहार भएको वर्ण गहुँगोरो रहेको एसपी चापागाईंले जानकारी दिए ।