त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भ्रष्टाचार मौलाएको भन्दै जेन–जी अलायन्सले छानबिनको माग गरी विभिन्न निकायमा उजुरी गरेको छ। अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानको प्रतीक्षालयमा रहेका पसलहरूले यात्रुलाई ठगी गर्दै आएको र यसमा व्यवसायीसँग उच्च तहको मिलेमतो दाबी गरिएको छ।
अवैध मुद्रा तस्करीमा संलग्न व्यवसायी सुवास श्रेष्ठले बिनाप्रतिस्पर्धा ती पसल सञ्चालन गरिरहेको र चर्काे शुल्क असुली गरिरहेको उजुरीमा उल्लेख छ। स्टेराइज हलमा श्रेष्ठले बिनाप्रतिस्पर्धा पसल सञ्चालन गर्दै आएको र त्यहाँबाट अवैध विदेशी मुद्राको तस्करी गर्दै आएकाले छानविनको माग गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा एक पूर्वप्रधानन्यायाधीशले संरक्षण रहेको आरोप उजुरीकर्ताको छ । त्यस्तै, विमानस्थलमा रहेका होर्डिङ बोर्डमा पनि लुट मच्चाएको उजुरीमा उल्लेख छ ।
१० वर्षका लागि सुवास श्रेष्ठकै ग्रिनतारा मिडियासँग ५० हजार होर्डिङ बोर्ड राख्दा विमानस्थलमा ब्युटीफिकेसन समेत गर्ने सर्त राखिएमोमा सो कम्पनीले त्यससम्बन्धी काम नगरेको उल्लेख छ । तर, होर्डिँबोर्डको करसमेत सरकारलाई नतिरेको भन्दै छानबिनको माग गरिएको छ।
जेन-जी अलायन्सका संयोजक प्रतीक्षा प्रतिरोध र सचिव सुमन अधिकारीले दिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयमा पनि दिइएको छ।