बाराको निजगढ नगरपालिका– ३, सिगौल मंगलबार राति साँच्चै संगीतको सहर बनेको थियो। गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड पहिलोपटक निजगढ आइपुगेकाे थियाे र त्यो आगमनसँगै सहरको मुटुमा संगीतको स्पन्दन बगेको महसुस भयो। ४१औँ टासिधार्गेलिङ बौद्ध गुम्बा मेलाको अवसरमा आयोजना गरिएको यो प्रस्तुति केवल कन्सर्ट नभई एक भावनात्मक क्षण थियो जसले हजारौँ दर्शकलाई एउटै तालमा बाँध्यो।
पहिलोपटक दीपकलाई प्रत्यक्ष देख्ने र सुन्ने मौका पाएका निजगढवासीहरू साँझदेखि नै कार्यक्रम स्थलमा ओइरिएका थिए। आयोजकका अनुसार हजारौँको संख्यामा संगीतप्रेमीहरूको उपस्थितिले सिगौलको आकाश नै गुञ्जिएको थियो। राति १०:५८ बजे दीपकले पहिलो गीतका रूपमा ‘फर्केर आउने छैन, म कुनै ऋतु होइन, मेरो आसै नगर, बित्ला है तिम्रो जिन्दगी’ गाउन सुरु गर्दा भिड एकछिन मौन भयो र त्यसपछि ताली, हुटिङ र नाचको ज्वारभाटा फैलियो।
लगातार दुई घण्टासम्म दीपक र उनको ब्यान्डले ‘मायाको डोरी’, ‘ओ अमिरा’, ‘काली काली’, ‘मन मगन’लगायत एक दर्जनभन्दा बढी लोकप्रिय गीतहरू सुनाए। हरेक गीतले दर्शकको मुटु छोयो, हरेक तालले उनीहरूलाई झुमायो। बिचबिचमा प्रस्तुत गरिएका लाखेनाच र झाँक्रीनाचले कार्यक्रमलाई झनै रंगीन बनायो, सांस्कृतिक सौन्दर्य र आधुनिक संगीतको मिश्रणमा त्यो रात अचम्मको सामञ्जस्य देखिन्थ्यो।
रातको अन्त्यतिर दीपकले मञ्चबाट बिदा माग्दा पनि दर्शक थामिन सकेनन्। आवाजहरू गुञ्जिरहे ‘एक गीत अझै’ । त्यो रात निजगढले केवल गीत सुनेन, त्यो रात निजगढले अनुभूति गर्यो ।