भक्तपुर सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइई)सँग सम्बन्धित कागजात बनाउन आउनेको भिड लागेको छ । एसइईको मार्कसिट सच्याउन, नयाँ बनाउन र रुजु गर्न सेवाग्राही बिहानैदेखि लाइन लागेका छन्।
सेवा प्रवाह सुस्त हुँदा एउटा मार्कसिट बनाउन घण्टाैँ लाइन लाग्नुपरेको सेवाग्राहीको गुनासो छ । हाल देशभर एक स्थानबाट मात्रै यो सेवा प्रवाह गर्दा सेवाग्राहीलाई काठमाडौं आउनुपर्ने सास्ती छ । बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले अब यो सेवा ७७ वटै जिल्लामा विकेन्द्रीकरण गर्न लागिएको बताए । उनका अनुसार १ मंसिरदेखि ७७ वटै जिल्लाबाट सेवा सुरु हुनेछ ।