विश्वकप क्रिकेट लिग २ : एकदिवसीयमा कप्तान रोहितले पूरा गरे दुई हजार रन

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण
  • ७६ एकदिवसीयमध्ये ७२ इनिङ्समा ब्याटिङ गर्दै कप्तान रोहित पौडेल एकदिवसीय खेलमा दुई हजार रन बनाउने नेपालकै पहिलो खेलाडी 

नेपाली राष्ट्रिय पुरुष टोलीका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय खेलमा दुई हजार रन पूरा गरेका छन् । नेपालका लागि ५० ओभर फम्र्याटमा दुई हजार रन बनाउने उनी पहिलो नेपाली खेलाडी हुन् । दुबईमा चलिरहेको आइसिसी विश्वकप लिग २ मा बुधबार युएईविरुद्ध २ रनमा आउट भएका रोहितले सो रेकर्ड बनाएका हुन् । उनले ७६ एकदिवसीय खेलमध्ये ७२ इनिङ्समा ब्याटिङ गरेका छन् । 

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका रोहित दुई शतकीय इनिङ्स खेल्ने नेपालका पहिला ब्याट्सम्यान हुन् । गत ३० अक्टोबरमा उनले युएईविरुद्ध १०६ रनको शतकीय इनिङ्स खेलेका थिए । एकदिवसीय खेलमा डेब्यु गर्ने उनी विश्वकै दोस्रो कान्छा खेलाडीसमेत हुन् । यस विधामा उनले अहिलेसम्म ११ अर्धशतक लगाउँदा ७४.९९ को औसतमा ब्याटिङ गरेका छन् । रोहितले करिअरमा पपुवा न्युगिनीविरुद्ध सर्वाधिक व्यक्तिगत रन जोडेका छन् । उनले पपुवा न्युगिनीसँगको १० खेलमा ४४३ रन बटुलेका छन् । यसक्रममा उनले करिअरकै पहिलो शतक पनि उसैविरुद्ध लगाएका छन् । उनले युएईविरुद्ध समग्रमा ३६४ रन बनाएका छन् ।

युएईसँग १६ इनिङ्समा एक शतक तथा दुई अर्धशतकीय इनिङ्स खेलेका छन् । चालू आइसिसी विश्कप लिग २ को शीर्ष स्थानमा रहेको अमेरिकाविरुद्ध रोहितले तेस्रो सर्वाधिक व्यक्तिगत रन जोडेका छन् । अमेरिकासँग नौ खेलमा उनले तीन अर्धशतकको मद्दतमा २९३ रन बनाए । दुई वर्षअघिको एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो । रोहित भारतसँगको खेलमा शून्य तथा पाकिस्तानविरुद्धको प्रतिस्पर्धामा ५ रनमा आउट भए । 

रोहितलाई पछ्याउँदै आसिफ
नेपालको एकदिवसीय खेलमा कप्तान रोहित नै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडीमा पर्छन् । रोहितलाई आसिफ शेखले पछ्याइरहेका छन् । चालू सिजनमा शेखले गतिलो ब्याटिङ गर्न सकेका छैनन् । यद्यपि, उनी नेपालका लागि ५० ओभरमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडीमा पर्छन् । आसिफले सन् २०२१ देखि ०२५ सम्म ६३ एकदिवसीय खेलमा एक हजार ६७७ रन बनाएका छन् । उनलाई दुई हजार रन बनाउन अझै ३२३ रन आवश्यक छ । आसिफले एक शतक तथा १३ अर्धशतक बनाएका छन् । तेस्रो स्थानमा ओपनर कुशल भुर्तेल छन् । कुशलले २८.९१ को औसतमा एक हजार ४५४ रन बनाएका छन् ।

युएईमा नेपाल जितविहीन
नेपालले युएईमा चलेको विश्वकप लिग २ मा अंकविहीन हुँदै सिरिज सकाएको छ । लिग २ अन्तर्गत ९०औँ खेलमा युएई नेपाल चार विकेटले पराजित भयो । पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेट गुमाएर २३९ रनको मध्यम योगफल खडा गर्‍यो । प्रत्युत्तरमा युएईले ४९.१ ओभरमा ६ विकेटको नोक्सानीमा २४३ रन जोड्यो । नेपालको ब्याटिङमा आसिफ शेखले ४८ बलमा ३४ तथा भीम सार्कीले ६८ बलमा ४८ रनको योगदान दिए । यसैगरी आरिफ शेखले ५४ बलमा ३० तथा दीपेन्द्रसिंहले ४३ बलमा ३७ रन जोडे । कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाए । नेपालका लागि बलिङमा करण केसीले ५८ रन खर्चेर तीन विकेट हात पारे । लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा दुई मेडन राखी ३५ रन खर्चेर एक विकेट लिए ।

प्रशिक्षक स्टुवार्टले राखे खराब रेकर्ड
आइसिसी विश्वकप लिग २ मा नेपालका अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट लले खराब रेकर्ड बनाएका छन् । युएईमा चलेको लिग २ मा स्टुवार्टको प्रशिक्षणमा नेपालले एक खेलमा पनि जित निकाल्न सकेन । यसअघि नेपालका लागि पूर्वप्रशिक्षक मनोज प्रभाकर र मोन्टी देसाईले विश्वकप लिग २ मा सबै खेल गुमाउने रेकर्ड बनाएका थिए । ६ महिना नेपाली टोलीका मुख्य प्रशिक्षकका रूपमा रहँदा प्रभाकरले सन् २०२२ को डिसेम्बरमा लिग २ का लागि नामिबिया भ्रमण गरेका थिए ।

सो भ्रमणमा नेपालले १ अंक मात्र प्राप्त गरेको थियो । नेपालले चारमध्ये कुनै खेल जित्न सकेको थिएन । वर्षाले बिथोलिएको पहिलो खेलमा नेपालले १ अंक बटुल्यो । प्रभाकरपछि प्रशिक्षक बनेका देसाईको प्रशिक्षणमा नेपालले २०२४ को सेप्टेम्बरमा क्यानडा भ्रमण गर्‍यो । नेपालले तीन खेल गुमायो । वर्षाका कारण नेपालले एक मात्र जोड्यो । देसाईकै प्रशिक्षणमा नेपालले अघिल्लो संस्करणको विश्वकप लिग २ मा अन्तिम १२ मध्ये ११ खेल जितेको थियो । देसाईले नै नेपाललाई सन् २०२३ को एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुर्‍याएका थिए ।  

सुझावित समाचार