नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले अब पार्टी सदस्याको संख्या एक करोड पुग्ने दाबी गरेका छन्। बुधबार पार्टी घोषणा सभालाई सम्बोधन गर्दै गौतमले अहिले आफूहरूसँग १०–१२ लाख सदस्य रहेका बताए।
‘अहिले हामीसँग १०–१२ लाख पार्टी सदस्यहरू छन्,’ उनले भने, ‘अब हामी जनताको बिचमा गयौँ भने ६ महिनामा बढेर २० लाख पुग्नेछ। एक वर्षमा ५० लाख पुग्नेछ र पार्टी सदस्यको संख्या एक करोड पुग्नेछ।’
उत्पादनमा आधारित पार्टी निर्माण गर्नुपर्ने बताउँदै गौतमले प्रत्येक नेताले निश्चित समय श्रम गर्नुपर्ने र सोही ज्यालाबाट आफ्नो खर्च चलाउन तयार हुनुपर्ने धारणा राखे।
‘प्रत्येक नेताले कुनै न कुनै संरचनामा वर्षमा एक महिना, महिनामा पाँच दिन भए पनि काम गर्नुहुनेछ र काम गरेबापत ज्याला लिनुहुनेछ। त्यो ज्यालाले आफ्नो खर्च चलाउनु हुनेछ,’ उनले भने।