कञ्चनपुरको एक होटेलले सुदूरपश्चिमको मौलिक खाना परिकार प्रवर्द्धन गर्नका लागि कोदो, मकै, फापर, जाैको मःमका परिकार लन्च गरेको छ। भीमदत्त नगरपालिका– ४, महेन्द्रनगरको महेन्द्रनगर बर्गर हाउसले कोदो, मकै, फापर र जाैको मःमका परिकार लन्च गरेको हो । बुधबारदेखि होटेलले सुदूरपश्चिमको मौलिक खाना मःम बिक्री–वितरण सुरु गरेको जनाएको छ।
महेन्द्रनगर बर्गर हाउसका सञ्चालक हेमराज भट्टले पछिल्ला दिनहरूमा मैदाको मःम खाने उपभोक्ता घट्दै गएको र उनीहरूले मौलिक खाने परिकार खोज्न थालेपछि मकै, कोदो, फापर र जौको पिठोबाट मःम परिकार लन्च गर्न थालेको बताए। ‘पहिले पहिले सुदूरका यी मौलिक परिवारबाट रोटी खाने मान्छे गरिब हुन् भन्ने बुझाइ थियो,’ उनले भने, ‘त्यो नभई अहिले स्वास्थ्यका दृष्टिकोणले समेत हाम्रा रैथाने परिकार उपयुक्त देखिएका छन्।’
भट्टले सुदूरका १० मौलिक खाने परिवारबाट विभिन्न आइटम बनाउनेसमेत योजना रहेको बताए । युवा होटेल व्यवसायी भट्टले महेन्द्रनगर बर्गर हाउमार्फत नयाँ–नयाँ खाने परिकार ल्याउँदै आएका छन् । पाँच वर्षदेखि होटेल तथा घरसम्मै होमडेलिभरी सेवा दिँदै आएको होटेलले सुदूरका मौलिक खाने परिकार प्रवर्द्धन गर्दै जाने योजना अघि सारेको छ ।