वीरगन्ज नाकाबाट भित्रिए आठ अर्ब ७० करोडका सवारीसाधन

बुधबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगन्ज नाका हुँदै आठ अर्ब ७० करोडका विभिन्न प्रकारका सवारीसाधन नेपाल भित्रिएका छन् । सवारीसाधनको आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । 

गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १९ करोड रुपैयाँबराबरका सवारीसाधन भित्रिएका थिए । सो अवधिमा पाँच अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालू वर्षमा मात्र तीन अर्ब ४१ करोड मूल्यका २४ हजार नौ सय ३९ थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन्, जसबाट तीन अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

त्यस्तै, जिप, कार र भ्यान वर्गका तीन सय ३० वटा सवारीसाधन ६२ करोड २४ लाख रुपैयाँको आयात भई एक अर्ब ७५ करोड रुपैयाँ राजस्व आएको छ । विद्युतीय सवारीसाधनको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ । 

यो अवधिमा दुई सय ९९ वटा विद्युतीय जिप, कार र भ्यान ६८ करोड पाँच लाख रुपैयाँको भित्रिएका छन् । तीबाट ४५ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा भने केवल ९७ वटा विद्युतीय सवारीसाधन १४ करोड ४९ लाख रुपैयाँको आयात भएका थिए ।

वीरगन्जमा पछिल्लो दुई वर्षमा सातवटा इभी (इलेक्ट्रिक भेहिकल) गाडीको नयाँ सोरुम सञ्चालनमा आएका छन् । इभीको माग देशव्यापी रूपमा बढेपछि विभिन्न कम्पनीले वीरगन्जमा सोरुम खोलेका हुन् । नेपाली बजारमा चिनियाँ, भारतीय, अमेरिकन तथा युरोपियन ब्रान्डका इभीले स्थान बनाएका छन् । अहिले बिवाइडी, जगदम्बा मोटर्स, हलमार्क मोटर्स इन्भेस्टमेन्ट, नारायणी अटोकप, नोभस बोद्रर्स, द ग्रिन र सशीला मोटर्सले सोरुम सञ्चालनमा ल्याएका छन् ।

यस्तै, महिन्द्रा र टाटा कम्पनीले पनि आफ्ना सोरुममा इभी गाडी ल्याएका छन् । वीरगन्जको बाइपास रोडमा गत वर्षमा बिवाइडीको सोरुम सञ्चालनमा आएको छ । करिब दुई वर्षअगाडि पिपरामा द ग्रिनले डाँफेको प्यासेन्जर गाडीको सोरुम ल्याएको हो ।

See More On

सुझावित समाचार