अक्सिजन प्लान्ट तीनवटा छन्, एउटा मात्र चल्छ
वीरगन्जमा रहेको नारायणी अस्पतालले कोभिड– १९ को संक्रमणका वेला ०७७ मा दुई करोडमा किनेको अक्सिजन प्लान्ट अझै प्रयोगमा आएको छैन ।
पुरानै प्लान्ट सञ्चालनमै रहेका वेला खरिद गरिएपछि प्रयोगमै नआएको अस्पताल प्रशासनले जनाएको छ । त्यही भएर मेडिकल सुपरिटेन्डेन्ट बस्ने क्वार्टरको पछाडिको नयाँ भवननजिकै प्लान्ट छोपेर राखिएको छ ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले थन्किएर बसेको अक्सिजन प्लान्ट अस्पतालको नयाँ भवनमा लगाउने तयारी भइरहेको बताए । अहिले अस्पतालमा पुरानै अक्सिजन प्लान्ट चलिरहेकाले अब निर्माण हुने भवनमा नयाँ प्लान्ट लगाइने उनले बताए ।
वीरगन्जका सागर साहले मधेश प्रदेशभरबाट बिरामी आउने भन्दै त्यसवेला प्लान्ट किनिए पनि हालसम्म प्रयोगमा नल्याएर राज्यकोषको दुरुपयोग गरिएको बताए ।
नारायणी अस्पतालमा अक्सिजन प्लान्ट तीनवटा छन् । तर, लिक्विड बेस अक्सिजन प्लान्ट मात्र सञ्चालनमा छ । प्रेसर स्विङ एडसप्सन प्लान्ट बन्द छ भने कोभिड– १९ मा किनिएको प्रेसर स्विङ एडसप्सन प्लान्ट जडान नगरी राखिएको छ ।
अस्पतालका अनुसार सञ्चालनमा रहेको लिक्विड बेस प्लान्ट अमेरिकी सहयोगमा नेपाल सरकारमार्फत प्राप्त भई जडान गरिएको हो । यो प्लान्टको टावर एकपटक भरिँदा अस्पताललाई तीन महिनालाई चाहिने अक्सिजन प्राप्त हुन्छ ।
तत्कालीन संघीय सांसद विमल श्रीवास्तवको संसदीय कोषबाट जडान गरिएको प्रेसर स्विङ एडसप्सन प्लान्टले भने एक दिनमा एक सय ठुला सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ । अस्पतालको मागभन्दा बढी अक्सिजन उत्पादन गर्ने, विद्युत् अत्यधिक खपत गर्ने र मर्मतसम्भार खर्च पनि बढी भएकाले हाललाई यो प्लान्ट सञ्चालन नगरी बन्द गरेको चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालयबाट प्राप्त ससर्त अनुदानको तेस्रो प्लान्ट (कोभिड– १९ को महामारीमा किनिएको) पनि प्रेसर स्विङ एडसप्सन प्लान्ट नै हो । यसअघि नै दुईवटा प्लान्ट जडान भइसकेको र एउटैले अस्पतालको माग धानिरहेको अवस्थामा तेस्रो प्लान्ट जडान गरेर त्यसको पनि उपयोग नहुने अवस्था देखिएपछि त्यो प्लान्ट जडान नै नगरी राखिएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए । लिक्विड बेस प्लान्टको तुलनामा प्रेसर स्विङ एडसप्सन अक्सिजन प्लान्टबाट उत्पादन लागत पनि प्रतिलिटर दुईदेखि तीन रुपैयाँसम्म महँगो छ ।