पदमार्गमा फसेका इटालीयन दुई पर्यटकको मृत्यु

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

वर्षा र हिमपातका कारण पदमार्गमा फसेका दुई पर्यटकको गोरखास्थित पाङवारी क्षेत्रमा मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षीय इटालियन नागरिक स्तेफानो फर्रोनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।   

गोरखाको चुमनुब्री गाउँपालिका–१, पाङ्बोचेस्थित पाङबारी पिक आरोहणका लागि गएका उनीहरू पाङवारी क्षेत्रमा पाँच दिनदेखि बेपत्ता थिए । उनीहरू मंगलबार सोही क्षेत्रमा मृत अवस्थामा भेटिएका श्रेष्ठले जानकारी दिए । उनीहरू बेपत्ता भएको भनिएको स्थानमा खोजतलास गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा मंगलबार शव फेला परेको हो । सात हजार पाँच मिटर अग्लो पाङबारी हिमाल आरोहणका लागि गएका उनीहरू हिमाल आरोहण गर्न नसकेपछि पहिलो शिविरबाट फर्कने क्रममा बाटोमा रहेको हिउँमा फसेका थिए । उनीहरू भएको स्थानमा हिँडेर जान सम्भव नभएकाले उद्धारका लागि हेलिकोप्टर तयार गरिए पनि मौसमका कारण उद्धार गर्न नसकिएको श्रेष्ठको भनाइ छ । 

उनीहरूसँगै गएका अन्य चारजनाको भने प्रहरीले सोमबार सकुशल उद्धार गरेको थियो । चारजनालाई सोमबार पाँच हजार मिटर उचाइमा रहेको पाङबारी पिकको आधार शिविरबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । आधार शिविरमा फसेका इटालियन नागरिक वर्ष ६५ का भेल्टर पेरलिनोसँगै अन्य तीन नेपाली पासाङ तामाङ, दावा छिरी शेर्पा र पेम्बा रेञ्जी शेर्पाको सोमबार उद्धार पछि उपचारका लागि काठमाडौं पठाइएको श्रेष्ठले जानकारी दिए । 

वर्षा र हिमपातका कारण उनीहरू ६ जनाको टोली एक साताअघि हिउँमा फसेका थिए । १ कार्तिकमा शेर्पा अल्पाइन ट्रेकिङ कम्पनीमार्फत उनीहरू पाङबारी पिक आरोहणका लागि गएका थिए।    
 

सुझावित समाचार