जेन–जीको प्रदर्शनका कारण रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगकाे बाँकी खेल २६ देखि २९ कात्तिकसम्म हुने भएको छ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा २० भदौदेखि सुरु प्रतियोगिता २३ भदौको खेलपछि रोकिएको थियो।
आयोजकका तर्फबाट सम्पर्क व्यक्ति संगम जोशीले मंगलबार एक विज्ञप्ति जारी गर्दै लिगका बाँकी खेल सञ्चालनका लागि नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएपछि नयाँ मिति तय भएको जानकारी दिए। २८ भदौसम्म संचालन हुने भनिएको लिगको १६ मध्ये नौ खेल सम्पन्न भइसकेका छन्। बाँकी सात खेलका लागि नयाँ मिति तय भएको उनले जानकारी दिए।
यसअघि पोखरा रंगशलास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भएको लिगका बाँकी खेलहरू काठमाडौंमा गर्ने गरी तयारी तीव्र गतिमा अगाडि बढिरहेको र खेलतालिका चाँडै सार्वजनिक गरिने उनले बताए।
लिगमा पोखरा निन्जाज, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड र लुम्बिनी लाभा गरी ६ फ्रेन्चाइजी टिम सहभागी छन्। ६ टिममा तीन–तीन गरी १८ विदेशी खेलाडीहरु आवद्ध भएका थिए।
यस्तो छ अंकतालिका
लिगमा सहभागी ६ टोलीले समान पाँच–पाँच खेल खेल्ने तालिका रहेकोमा चार दिनको खेल सकिँदा प्रतिस्पर्धी सबै टोलीले समान तीन–तीन खेल मात्र खेलेका छन्। लिग चरणका खेलपछि अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
समान तीन–तीन खेल सकिँदा अपराजित रहेको पहिलो संस्करणको उपविजेता ललितपुर र गत वर्षको विजेता कर्णालीको समान नौ अंक छ। दुई टोलीको समान नौ अंक भए पनि सेटको आधारमा ललितपुर तालिकाको शीर्ष स्थानमा छ।
मधेस, काठमाडौं र लुम्बिनीले समान तीन खेलमा दुईमा हार र एकमा जित हात पार्दै समान तीन अंकका साथ मधेश तेस्रो र काठमाडौं चौथो स्थानमा छन्। दुई अंकका साथ लुम्बिनी पाचौँ स्थानमा रहँदा तीन खेलमै पराजित घरेलु टोली पोखरा निन्जाज एक अंकका साथ पुछारमा छ।
अंक तालिकाको पाँचौँ स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको पोखराको दुई खेल बाँकी रहँदा फाइनलमा स्थान बनाउने बाटो बन्द भइसकेको छ।