कपिलवस्तुमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई बालबालिका घाइते

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको कृष्णनगर नगरपालिका– १, शिवनगरमा सोमबार साँझ दुई अटो रिक्सा एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई बालबालिका घाइते भएका छन्।

कृष्णनगरबाट बहादुरगन्जतर्फ जाँदै गरेको लु.१ह २९६ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेको लु.१ह ८२४ नम्बरको अर्को अटोलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका महाराजगन्ज नगरपालिका– ११, बडेगाउँका ३५ वर्षीय विष्णु धरिकको उपचारका क्रममा चौराहा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

धरिकका पाँच वर्षीय छोरा विष्णु र १० वर्षीया छोरी रन्जितासमेत दुर्घटनामा घाइते भएका छन्। उनीहरूको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ।

दुर्घटनापछि एक अटोचालक रन्जित अग्रहरिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ भने अर्का चालक फरार छन्।

सुझावित समाचार