धनकुटामा गोबरग्यास प्रयोग प्रभावकारी बन्दै गएको छ। विशेष गरी धनकुटाको ग्रामीण क्षेत्रमा यसको प्रयोग बढ्दै गएको छ। गोबग्यासको प्रयोगबाट दोहोरो फाइदा हुने भएपछि गोबरग्यास प्रभावकारी बन्दै गएको हो।
गाई, भैँसीको गोबरबाट ग्यास र मल दुवै उत्पादन हुने भएपछि खास गरेर किसानहरूलाई दोहोरो फाइदा भएको छ। गोबरबाट ग्यास बाल्नुको साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सकिन्छ । त्यसैले जिल्लाको ग्रामीण क्षेत्रमा एलपी ग्यासको भन्दा गोबरग्यासको प्रभावकारिता बढिरहेको प्रयोगकर्ता लाखमान तामाङले बताए ।
पहिलो कुरा ग्रामीण क्षेत्रसम्म एलपी ग्यास पुर्याउन सहज छैन। तर, गोबरग्यासको प्रयोगले आर्थिक अवस्था कमजोर भएकाहरूले सहज ढंगले प्रयोग गर्न सकिने भएकाले यसको प्रभावकारिता बढेको हो । गोबरग्यास प्रयोगका प्रशस्त फाइदा रहेका छन् । खाना पकाउन छिटो, छरितो र धुवाँरहित हुने भएकाले स्वास्थ्यमा कम असर पर्दछ । दिनमा पाँचदेखि १० किलोसम्म गोबर हाल्दा एक दिनमा तीनपटकसम्म खाना, खाजा पकाउन सकिने प्रयोगकर्ताहरू बताउँछन्।
ग्रामीण क्षेत्रका साथै धनकुटा नगरपालिका क्षेत्रमा पनि एक सय घरमा गोबरग्यास जडान गरिएको छ। नगर क्षेत्रका करिब पाँच हजार घरधुरीमा गोबरग्यास जडान गर्ने लक्ष्य लिएको नगरपालिकाले उक्त ग्यास जडानका लागि ४० हजार अनुदान पनि प्रदान गर्दै आएको छ भने बाँकी १६ हजार कृषक र बाँकी रकम सप्लायर्स कम्पनीले लगानी गर्दै आएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताए। गोबरग्यास प्रयोगको हिसाबले एलपी ग्यासको तुलनामा कम जोखिम पनि रहेको छ ।