ललितपुरका २१ वटा प्रहरी युनिटमध्ये १९ वटा पुनर्निर्माण

दुईवटा युनिटको कार्यालय बन्न बाँकी

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त पारिएका ललितपुरका २१ वटा प्रहरी युनिटमध्ये १९ वटाको पुनर्निर्माण गरिएको छ । स्थानीयवासीको प्रत्यक्ष सहयोगमा ती युनिटहरुको पुनर्निर्माण सम्भव भएको हो । 

ती युनिट तथा कार्यालयहरु पहिलेको भन्दा थप व्यवस्थित र भव्य रुपमा निर्माण भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार हाल सबै युनिटबाट प्रहरीले सेवा दिन थालिसकेको छ ।

एसएसपी बोगटीका अनुसार जेनजी आन्दोलनमा ललितपुरका २१ वटा प्रहरी युनिट पूर्ण रुपमा क्षतविक्षत भएका थिए । तीमध्ये प्रहरी प्रभाग इमाडोल र प्रहरी प्रभाग बाडेगाउँबाहेक अन्य प्रहरी युनिट तयार भएर प्रहरी नियमित ड्युटीमा खटिएका छन् । स्थानीयवासीको झण्डै ५० लाख सहयोगमा सातदोबाटो वृत्तको भवन पुनर्निर्माण सकिने क्रममा छन् ।

त्यस्तै भैंसेपाटी प्रहरी प्रभावको भवन पनि चिटिक्क पारिएको छ भने स्थानीयकै सहयोगमा चापागाउँ वृत्तको भवन पनि पुनर्निर्माण र रंगरोगन भएको छ । पुल्चोक प्रहरी प्रभागको भवन पनि पुरानै अवस्थामा पुगेको छ । सबै गरी १९ वटा प्रहरी युनिटहरु व्यवस्थित बनेको परिसरले जनाएको छ ।

प्रहरी प्रभाग बाडेगाउँ र इमाडोल भने अस्थानीय रुपमा सञ्चालन भइरहेको छ । त्यस्तै बाडेगाउँ प्रहरी प्रभागको तीनतले भवन निर्माणको लागि स्थानीयको आर्थिक सहयोगसहित समिति गठन भएको छ । इमाडोल प्रभाग भवन पनि महालक्ष्मी नगरपालिकाले बनाउने निर्णय गरेको एसएसपी बोगटीले जानकारी दिए । ‘जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका जिल्लाका प्रहरी युनिटहरु स्थानीयवासीको सहयोगमा पहिलेभन्दा झन् व्यवस्थित बने, जेनजी आन्दोलनयता जनता र प्रहरीको आत्मियता अझ बढेको मैले महसुस गरेको छु,’ उनले भने, ‘प्रहरी एउटा मेकानिजम रहेछ, जो बिना हामी समाजमा सुरक्षित रहन सक्दैनौं भन्ने महसुस जेनजी आन्दोलनपछि आम सर्वसाधारणले गर्नुभयो, स्थानीयवासी र प्रहरीको सम्बन्ध प्रगाढ भएको एउटा प्रमाण केहो भने प्रहरीको युनिट तथा भवन निर्माणमा स्थानीयहरुले ठूलो लगानी गर्नुभयो, ललितपुरको भैंसेपाटी प्रभाग स्थानीयले पहिले भन्दा अहिले भव्य बनाइदिनुभयो, अन्य प्रहरी कार्यालय निर्माणमा पनि स्थानीयवासीले आफै सामेल भएर प्रहरीको संरचना निर्माण गर्नुभयो, यसले उहाँहरुलाई प्रहरी हाम्रो र प्रहरीको संरचना पनि आफ्नो भन्ने महसुस गर्नुभएको छ ।’ 

२१ थान हतियार हराएकोमा १५ थान जलेको, तीन थान भेटिन बाँकी 
जेनजी आन्दोलनका क्रममा ललितपुरबाट २१ थान हतियार हराएकोमा १५ थान हतियार जलेको, तीन थान हतियार भेटिएको र तीन थान हतियार भेटिएको छैन । हाल जिल्ला प्रहरी परिसरमा जेनजी आन्दोलनसँग सम्बन्धित विषयका मुद्दा बढेका छन् । ‘अहिले हामीले अपराधिक घटना रोक्न विभिन्न एप्सहरु बनाउने र त्यसबाट मनिटरिङ गर्ने कार्य पनि भइरहेको छ,’ एसएसपी बोगटीले भने, ‘दक्षिण ललितपुरमा पर्ने तीनवटा गाउँपालिकाको सुरक्षामा प्रहरी गस्ती पठाउने र जनताको माग र समस्याका आधारमा प्रहरी परिचालन गरेका छौं ।’

उनका अनुसार पछिल्लो समय अनलाइन फिसिङ अर्थात् चिठ्ठा पर्यो भनेर ठगी गर्ने क्रम बढेको छ । ललितपुर प्रहरीमा पनि यससमबन्धी उजुरबाजुर गर्नेको संख्या बढेकोले अनलाईन तथा सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनुपर्ने एसएसपी बोगटीले सुझाए । हाल प्रहरी परिसरले मुद्दाको संख्या घटाउने गरी काम गरिरहेको छ। 

एक महिनमा अभियुक्तबाट १० लाख असुली 
असोज १२ देखि कार्तिक १५ गतेसम्म परिसरले चालू मुद्दाका फरार प्रतिवादी १० जना पक्राउ परेको एसएसपी बोगटीले बताए । त्यस्तै फरार रहेका १५ अभियुक्तलाई पक्राउ गरी अदालत बुझाइएको छ । यस अवधीमा विभिन्न अभियुक्तहरुबाट दश लाख ८० हजार सात सय जरिवाना असुल भएको छ । सोहि अवधीमा  ३२ वटा निवेदन दर्ता भएका छन् । त्यसमा मुद्दाको प्रकार हेरेर अघि बढाउने र मिलापत्र गरिएको छ । त्यस्तै पछिल्लो एक महिनामा मात्रै जिल्लामा ३५ जना मानिस हराएको सूचना प्रहरीलाई प्राप्त भएकोमा २२ जना फेला परेको र १२ जना फेला पर्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

एक महिनामा १९ वटा कार्यक्रम 
त्यस्तै पछिल्लो एक महिनायता ललितपुर जिल्लामा प्रधानमन्त्रीको सवारी एकपटक भएको छ । राजनीतिक कार्यक्रम १५ वटा भएका छन् भने सोहि अवधीमा दुई वटा धर्नाका कार्यक्रम भएका छन् । सबै गरेर जिल्लामा एक महिनामा ७९ वटा कार्यक्रम भएका छन् । उक्त कार्यक्रममा ३ हजार ३८९ जना प्रहरी खटिएका थिए । त्यस्तै जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरको वाणिज्य बैंक लुटपाट गर्ने शिव कुमार विकलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाइएको छ । विकको साथबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट चोरी गरेको पेस्तोल समेत भेटिएको थियो । 
 

See More On

सुझावित समाचार