विद्यालयमा भर्ना हुने दलित विद्यार्थी धेरै भए पनि कक्षामा न्यून उपस्थिति भएपछि सिराहाको लहान नगरपालिका–११ स्थित पिडरबोनी माविका शिक्षक शिक्षिकाहरू विद्यार्थी खोज्दै साप्ताहिक घरदैलो अभियानमा जुटेका छन् ।
प्रायः सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुने वेला घरदैलो अभियान चल्ने गरे पनि यहाँका शिक्षकशिक्षिकाले भने वर्षैभरि अभियान चलाउने भएका छन् । विद्यालयमा आधारभूत र मावि तहमा गरी करिब ६५ प्रतिशत दलित विद्यार्थीमध्ये मुस्किलले १५ प्रतिशत र अन्य समुदायका विद्यार्थीको उपस्थिति न्यून रहेको पाइएपछि घरदैलो अभियानसहित अभिभावक भेटघाट सुरु गरेको प्रधानाध्यापक वीरेन्द्र यादवले बताए । उनका अनुसार ६ साउनमा प्रअको रूपमा हाजिर भएकै दिन शिक्षक कर्मचारीसँगको छलफलमा विद्यालयमा नाम दर्ता रहेकामध्ये आधाभन्दा पनि कम विद्यार्थी अनुपस्थित रहेको पाएपछि घरदैलो अभियान र भेटघाट थालिएको हो ।
‘शिक्षक कर्मचारीहरूको बैठकले अभियान थाल्ने योजना बनाएपछि सोहीअनुसार विद्यालय व्यवस्थापन समितिले पनि निर्णयसहित साप्ताहिक कार्ययोजना बनायो,’ उनले भने, ‘१ कार्तिकदेखि हरेक शनिबार पर्नेगरी थालिएको घरदैलो अभियान र भेटघाटअन्तर्गत लहान ११, १३ र १४ नम्बर वडामा पर्ने पिडरबोनी, भिसाटोल र बस्तीपुर गाउँ पुगेर स्थानीय अगुवा, अभिभावकहरूसँग कुराकानी गरेका छौं ।’ आगामी शनिबार शुक्रामपुर, थारूटोल र रामटोल पुग्ने योजना रहेको उनले बताए । अभियानले विद्यालयमा दलितसहित अन्य समुदायका विद्यार्थीको नियमित उपस्थितिसँगै आगामी शैक्षिक सत्र ०८३ को रणनीतिलाई पनि सघाउने अपेक्षा गरिएको उनले बताए ।
कक्षाकोठामा सतप्रतिशत दलित विद्यार्थी
घरदैलो अभियान र अभिाभवकसँग भेटघाटपछि सामाजिक र शैक्षिक रूपले मधेशमा सबैभन्दा पछाडि पारिएका डोम समुदायका सतप्रतिशत विद्यार्थी कक्षाकोठामा नियमित उपस्थित हुन थालेको उनको भनाइ छ । ‘विद्यालयमा विभिन्न कक्षामा पढ्ने २५० विद्यार्थीमध्ये १६३ जना दलित समुदायका छन्,’ उनले भने, ‘अभियानपछि चार छात्रासहित सातजना डोम र दलित समुदायका सतप्रतिशत विद्यार्थी कक्षा कोठामा उपस्थित हुन थालेका छन् ।’
बस्तीनजिकै रहेको विद्यालय जान पनि हिच्किचाइरहेका डोम विद्यार्थीका अभिभावकसँग भेटघाट गरेर कुराकानी गर्दा विद्यालयमा हुने जातीय विभेदको कारण रहेको खुलेपछि प्रअसहित विद्यालयका शिक्षक कर्मचारीले डोम र दलित विद्यार्थीलाई कक्षाकोठामा नजिक गएर विषयगत कुराकानी गर्ने, माया गर्न थालेपछि अन्य विद्यार्थीमा पनि सकारात्मक प्रभाव परेको शिक्षक सूर्यदेव कामैतले बताए ।
कक्षा ७ मा अध्ययनरत अभिनाश डोमले भने, ‘विद्यालय र कक्षाकोठामा शिक्षक, कर्मचारीसहित अन्य विद्यार्थीले माया गर्न थालेपछि छोडेको पढाइका लागि फेरि विद्यालय आउन थालेँ ।’
दलित विद्यार्थीलाई निःशुल्क
विद्यालयमा डोम बस्तीबाट कक्षा ४, ६ र ७ मा गरी चार छात्रासहित सात बालबालिका पढिरहेका छन् । बाँसजन्य सामग्री बनाएर बिक्री गर्ने, बंगुरपालन गरेर जीविका चलाउने डोम समुदायको आर्थिक अवस्था केही सवल भए पनि जातीय विभेदका कारणले शिक्षामा अत्यन्त न्यून पहुँच रहेको दलित अभियन्ता विनोदकुमार बिसुन्केले बताए ।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले दलित समुदायका बालबालिकाहरूलाई शिक्षामा जोड्न र टिकाउन नगरपालिकाले शैक्षिक सामग्री सहयोग गरिरहेको बताए। ‘दलित बहुल क्षेत्रमा प्रस्तावित नै भए पनि मावि तहको कक्षा सञ्चालनसँगै दलित बालबालिकालाई चालू शैक्षिक सत्रदेखि शैक्षिक सामग्रीको रुपमा कापी पेन्सिल निःशुल्क वितरण गर्ने कार्य अघि बढाएका छौँ,’ उनले भने, ‘नगर क्षेत्रमा पर्ने दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा समेत सञ्चालन भइरहेको छ ।’ दलित विद्यार्थीलाई कक्षाकोठामा नियमित उपस्थित गराउन पिडरबोनीमा थालिएको नमुना पहललाई नगरका ५९ वटा अन्य सामुदायिक विद्यालयमा पनि लागू गरिने उनले बताए ।