जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

 २३ र २४ भदौको जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गरेको हो। ४५ जनालाई सहिद घोषणा गरिएको र अन्यको अध्ययन भइरहेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। 

 आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए । तर, कतिपयको शव अझै सनाखत हुन सकेको छैन । जलेको अवस्थामा भेटिएका शवको सनाखत हुन नसकेको हो ।
जेलबाट भाग्न खोज्ने क्रममा गोली लागेर १० कैदीको मृत्यु भएको थियो । उनीहरूको नाम सहिदको सूचीमा छैन । केही भारतीयको पनि मृत्यु भएको छ । उनीहरूको नाम पनि सूचीमा राखिएको छैन । आन्दोलनमै ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गरिएको स्रोत बताउँछ । आन्दोलनमा तीन प्रहरीले पनि ज्यान गुमाएका थिए । सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै सहिद घोषणा गर्ने नीतिगत निर्णय गरे पनि औपचारिक रूपमा निर्णय गरेर राजत्रपमा प्रकाशित गरेपछि मात्र त्यो कार्यान्वयन हुन्छ । 

२३ भदौमा भ्रष्टाचारविरुद्ध बानेश्वरमा भएको आन्दोलनमा गोली लागेर २३ जनाले ज्यान गुमाएका थिए । त्यसको विरोधमा देशैभरि भोलिपल्ट नागरिकहरू सडकमा उत्रिएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्त भएको थियो । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी चुनावको घोषणा गरिएको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएकाको सम्झौतामा जेन–जी स्मारक पार्क बनाउने घोषणा गरिसकेको छ ।
 

सुझावित समाचार