पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने ट्रेकिङ एजेन्सीलाई अध्यागमन विभागले ४० हजार रुपैयाँ जरिवाना तिराएको छ। मल्टी एड्भेञ्चर प्रालिलाई विभागले कारबाही गर्दै जरिवाना तिराएको हो।
सो ट्रेकिङ एजेन्सीले एक जर्मन पर्यटकलाई ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पत्रयात्रामा लिएर गएको थियो । विभागबाट अनुमतिपत्र दिनुअघि नै ती पर्यटक कञ्चनजंघा पुगेका थिए। अनुमतिपत्र नभएको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरी विभागमा बुझाएको थियो। छानबिनको क्रममा ट्रेकिङ कम्पनीको बदमासी खुलेको हो।
अध्यागमन नियमावली, २०५१ मा निषेधित क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले एजेन्सीमार्फत अध्यागमन विभागमा निवेदन दिनुपर्ने हुन्छ । उक्त कम्पनीले २५ अक्टोबरदेखि १० दिनको अनुमति लिएको, तर सो मितिको एक दिनअगाडि नै उक्त टोली कञ्चनजंघा क्षेत्रमा पुगेको विभागका निर्देशक टीकाराम ढकालले बताए । त्यसभन्दा अगाडि नै विदेशी नागरिक लिएर कम्पनीको तर्फबाट ट्रेकिङ गाइड दाइला शेर्पा पदयात्रामा गएका थिए । शेर्पालाई कारबाही गर्न विभागले पर्यटन बोर्डमा समेत लेखी पठाएको छ। जर्मन पर्यटकलाई भने जरिवानासहित निष्कासनको निर्णय भएको छ।
नेपालमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, किमाथांका, छेकम्पार र चुञ्चेतलगायतका केही क्षेत्रलाई सुरक्षा र सीमा संवेदनशीलताको आधारमा नेपाल सरकारले निषेधित क्षेत्र तोकेको छ । जहाँ पदयात्रामा जान विदेशी नागरिकले अनिवार्य रूपमा अनुमति लिनुपर्ने हुन्छ। विभागले अनलाइनबाटै यस्तो अनुमति दिने गरेको छ।