मोरङ कटहरीको कृषि थोकबजारबाट कोशी प्रदेश सभाको सचिवालय सञ्चालन गरिँदै

आगामी मंसिर पहिलो हप्ताभित्रै कोशी प्रदेश सभाको हिउँदे अधिवेशन सरकारले आब्हान गर्ने

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा जलेर ध्वस्त भएको कोशी प्रदेश सभाको सचिवालय मोरङको कटहरी गाउँपालिकाको कृषि थोकबजारबाट सञ्चालन हुने भएको छ । 

जेन–जी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभाको बैठक भवन जलेर खरानी भएको र  सचिवालय भवन प्रयोग गर्न नहुने अवस्थामा रातो स्टिकर लागेकाले आगामी  बुधबारदेखि मोरङको कटहरी गाउँपालिका– १ स्थित कृषि बजारको भवनमा  कोशी प्रदेश सभाको सचिवालय सञ्चालनमा आउने भएको हो ।   

कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार कोशी  प्रदेश सभा भवनमा आगजनीका कारण पुनः प्रयोग गर्न नमिल्ने भनी प्राविधिक प्रतिवेदन आएपछि सचिवालय र बैठक भवनको खोजी गर्दा अन्यत्र फेला नपरेपछि प्रयोगविहीन अवस्थामा रहेको कृृषि थोकबजारको भवनमा  संसद् सचिवालय स्थापना गरेर सञ्चालन गर्ने कोशी सरकारले निर्णय लिएको हो । मन्त्री भण्डारीले भने,  हामीले यही बुधबार अपराह्नदेखि प्रदेश सरकारमातहत रहेको कृषि थोकबजारमा प्रदेश सभाको सचिवालय स्थापना गर्ने निधो गरेका छौँ, आगामी बुधबार नै मन्त्रिपरिषदबाट निर्णय गरेर सञ्चालन पनि गराउनेछौँ ।’ 

मन्त्री भण्डारीका अनुसार प्रदेश सभाको सचिवालय र बैठक भवनको खोजी गर्दा विराटनगर महानगरपालिकाको सभागृहलाई पहिलो प्राथमिकता दिइएको थियो । तर, भूकम्पले जीर्ण बनेको सभागृह पुनर्निर्माणपछि सञ्चालनमा आए पनि दैनिक भाडा एकदमै महँगो भएकाले विराटनगरको छिमेकी गाउँपालिका कटहरीमा रहेको कृषि थोकबजारमा प्रदेश सभा सञ्चालन गर्ने निधोमा कोशी सरकार पुगेको हो । यसका लागि मुख्यमन्त्री, मन्त्री र सांसदहरूले कृषि बजारको अनुगमन गरेर सचिवालय स्थापनाका लागि आवश्यक निर्देशन दिइसकेका छन् । 

मन्त्री भण्डारीका अनुसार  कृषि थोकबजारमा संसद् सचिवालय सञ्चालनमा आएपछि कोशी सरकारले आगामी मंसिर पहिलो हप्तामै संसद्को आठौँ तथा हिउँदे अधिवेशन पनि नियमित गराउने निधो गरेको छ ।

सरकारका प्रवक्ता मन्त्री भण्डारीले भने, ‘सचिवालय स्थापना भएर सञ्चालनमा आइसकेपछि हामी मंसिर पहिलो हप्तामै हिउँदे अधिवेशन पनि आह्वान गर्नेछाैँ ।’ मन्त्री भण्डारीका अनुसार, आगजनीले क्षति पुगेको प्रदेश सभा भवनको प्राविधिक प्रतिवेदन आइतबार मात्र प्राप्त भएको र त्यसकै आधारमा तत्कालका लागि कटहरीमा सभा सञ्चालन गर्ने निर्णयमा सरकार पुगेको हो ।  

करोडौँको लागतमा बनेको कृषि थोकबजार अलपत्र अवस्थामा थियो 

मोरङको कटहरी गाउँपालिका– १, जमटोकीमा रहेको प्रदेश कृषि थोकबजार केन्द्र संघीय कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)अन्तर्गत ०७५ सालमा तत्काल  १७ करोडको लागतमा निर्माण भएको थियो । तर, प्रदेशको कृषि विकासका लागि स्थापना गरिएको अत्याधुनिक फलफूल तथा तरकारी बजारमा विराटनगरका बिचौलिया  व्यापारीहरू जान नमान्दा प्रयोगविहीन अवस्थामा थियो ।

३ चैत ०७५ मा संघीय सरकारको कृषि तथा पशुपक्षी मन्त्रालयले निर्माण गराएको उक्त थोक बजार संरक्षणसहित सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । उक्त बजारको तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । 

विराटनगरमा महानगरपालिकासँगै सिमाना जोडिएको सिँघिया खोला किनारमा  पाँच बिघा दुई धुर जग्गामा फैलिएको उक्त थोकबजारमा ३८ वटा थोक र  एउटा  खुद्रा बिक्री कक्ष छन् । बैंकिङ सुविधासहितको आधुनिक प्रशासनिक भवन, शौचालय, चमेनागृह, डिप ट्युबेल, सिसिटिभी, सवारी पार्किङलगायतका सुविधाहरू पनि बजार परिसरभित्रै उपलब्ध छन् । बजारमा होलसेल पसल राख्न १४ सय ८८ वर्गमिटरको भवन र ३५१ वर्गमिटरको खुद्रा बिक्री भवन निर्माण गरिएका छन् । बजारमा प्रतिवर्गमिटर ३० टन तरकारी भण्डारण पनि क्षमता रहेको छ ।

तर, उक्त संरचना आफूमातहत आएपछि तत्काल प्रदेश नं. १  सरकारको कृषि भूमि तथा सहकारी मन्त्रालयमार्फत निर्देशिका निर्माण गरी समिति निर्माण गराएर तरकारी बजार सञ्चालन गराउन पहल थालेको थियो । तर, ८० प्रतिशत प्राथमिकता दिएर छुटमा सूचना निकाल्दा पनि महानगरका व्यापारीहरू फलफूल तथा तरकारी थोकबजारमा गएनन् ।  तत्काल विराटनगर महानगरपालिकाले सूचना प्रकाशन गरेर विराटनगरमा रहेको  गुद्री बजार सार्न पहल गरे पनि व्यापारीहरू जान नमानेकोले थोकबजार प्रयोगमा आउन सकेन ।    

त्यसपछि  प्रदेश सरकारले व्यपारीहरूसँग खुसामद नगरी बजार सञ्चालनमा ल्याउने योजना बनायो । तैपनि थोकबजार सञ्चालनमा आउन सकेन । जसले गर्दा सरकारले करोडौँ रुपैयाँ खर्चेर कृषि विकासका लागि गरेको लगानी बालुवामा पानीझैँ भइरहेको थियो ।

प्रयोगविहीन हुँदा बजारका संरचनाहरू पनि भत्किएर नष्ट हुन थालिसकेका थिए ।  
तर, कोशी उद्योग वाणिज्य संघले पहिलोपल्ट  २७ देखि ३० भदौसम्म विशुद्ध कृषि प्रदर्शनी मेला आयोजना गरेर उक्त प्रयोगविहीन भइरहेको कृषि थोकबजारको संरचनालाई प्रयोगमा ल्याइदिएको थियो  ।  

सांसदहरू नजुट्दा खरानीको थुप्रोमा प्रदेश सभाको बैठक राख्न सरकार असफल 

जेन–जी पुस्ताले गरेको  प्रदर्शनको वहानामा घुसपैठ गरेर अराजक समूहले एकै दिनमा कोशी प्रदेशको राजधानी विराटनगर ध्वस्त बनाइदिएको थियो ।  

प्रदर्शनमा उत्रिएको अराजक समूहले मंगलबार अपराह्नदेखि साँझसम्म राजधानी विराटनगरमा रहेका दर्जनौँ कार्यालय, सार्वजनिक स्थान, व्यापारिक मल, नेता र जनप्रतिनिधिहरूका घरसँगै देवकोटाचाेकमा रहेको कोशी प्रदेश सभा सचिवालय र बैठक भवनमा आगजनी गरेर ध्वस्त बनाइदिएको थियो । आगजनीबाट कोशी प्रदेश सरकारले चार वर्षअघि १७ करोडमा निर्माण गरेको कोशी प्रदेस सभाको बैठक भवन जलेर खरानी भएको थियो भने सचिवालय भवन ध्वस्त बनेको थियो ।  

संसद् भवनमा आगजनी भएपछि कोशी सरकारले जलेकै भवनमा संसद्को जारी बर्खे अधिवेशनको बैठक राखेर संकल्प प्रस्ताव पारित गर्ने छलफल गरेको थियो । तर, सांसदहरू भयभीत भएर जुट्न नसक्दा र कार्यव्यवस्था समितिमा पनि सहमति नहुँदा जलेको भवनमा संसद्को बैठक बस्न सकेन ।

कोशी सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले भने,  ‘सांसदहरू जुटेको र कार्यव्यवस्था समितिको बैठकमा सहमति बनेको भए हामी खरानीकै थुप्रोमा बर्खे अधिवेशनको बैठक राखेर संकल्प प्रस्ताव पारित गरेर अधिवेशन अन्त गराउने थियौँ, तर सहमति नजुट्दा बाध्य भएर बर्खे अधिवेशन अन्त गरायाैँ ।’
 

सुझावित समाचार