सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ सरोकारवाला सबै पालिकासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनको यस्तो प्रतिबद्धतासँगै फोहोर व्यवस्थापनमा पाँच दिनदेखि हुँदै आएको अवरोध हटेको छ।
मन्त्री घिसिङले आइतबार बन्चरेडाँडा ल्यान्डफिल साइटको स्थलगत निरीक्षण र प्रभावित स्थानीयसँग अन्तर्क्रियासमेत गरेको जनाएका छन् । उनले सो क्रममा विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता र थप विषयहरूमा समेत सहकार्य र समन्वय गरी अगाडि बढ्ने सहमतिपश्चात् पाँच दिनदेखिको अवरोध अन्त्य हुँदै काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको छ। फोहोर फोहोर मात्र नभएर यसलाई ऊर्जा र सम्पत्तिमा रूपान्तरण गर्न सकिने अवसर पनि भएको उनले जनाएका छन्।
उनले सहयोग र साथका लागि काठमाडौं महानगरपालिकाका प्रमुख तथा पदाधिकारीहरू, धुनिबेँसी नगरपालिकाका प्रमुख तथा पदाधिकारीहरू, ककनी गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारीहरू, प्रभावित वडाका वडाध्यक्षहरू, स्थानीय दाजुभाइ दिदीबहिनीहरू, काठमाडौं, धादिङ तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारीहरू एवं सुरक्षा निकाय, स्थानीय बासिन्दाहरूलगायत सम्पूर्ण सरोकारवाला सबैप्रति सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेका छन्।