लाइन काटिएका पञ्चकन्याका दुई उद्योगले आयोगमा दिए ‘विवाद समाधान’को निवेदन

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

बिजुलीको प्रिमियम बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि दुई उद्योगले विद्युत् नियमन आयोगमा विवाद समाधानका लागि निवेदन दिएका छन् । पञ्चकन्या समूहको लगानी रहेको पञ्चकन्या स्टिल इन्डस्ट्रिज र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजले आयोगमा निवेदन दिएको हो । 

पञ्चकन्या स्टिलको ५२ लाख र पञ्चकन्या प्लास्टिकको २५ लाख बक्यौता छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा यी दुईसहित २५ उद्योगको लाइन काटेको थियो । एक करोड ८८ लाख बक्यौता भएको घराना फुड्स र एक करोड ४८ लाख बक्यौता रहेको गोयन्का फुड्सले सोमबारदेखि किस्ता तिर्न सुरु गरेका थिए । किस्ता तिर्न थालेपछि उनीहरूको उद्योगमा लाइन जोडिएको छ । दुई उद्योगले भने बक्यौताको ५ प्रतिशत सेवा शुल्क तिरेर निवेदन दिएका हुन् । आयोगका प्रवक्ता नवीनराज सिंहले दुई उद्योगले प्राधिकरणको बिलमा गुनासो राख्दै विवाद समाधानका लागि निवेदन दिएको बताए । ‘पञ्चकन्या स्टिल इन्डस्ट्रिज र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजले शुक्रबार विवाद समाधानका लागि निवेदन दिनुभएको छ । साथै, पाँच प्रतिशत दस्तुर भुक्तानी गर्ने प्रक्रिया पनि अघि बढाउनुभएको छ,’ उनले भने, ‘आइतबार उहाँहरूले गरेको भुक्तानी आयोगको खातामा आए–नआएको पक्का गर्छाैँ । दस्तुर प्राप्ति भएको देखिएपछि थप प्रक्रिया अघि बढ्छ ।’

विद्युत् नियमन आयोगलाई प्राधिकरण र प्राधिकरणका ग्राहकबिच हुने विवाद समाधान गर्ने अधिकार विद्युत् नियमन आयोग ऐन, २०७४ ले दिएको छ । यसरी परेको उजुरीमा आयोगले ९० दिनभित्र सुनुवाइ गरी निर्णय दिनुपर्नेछ । अब आयोगले त्यसरी आएको निवेदन रुजु गर्नेछ र उचित देखिएमा अध्ययन अघि बढाउनेछ । आयोगले अध्ययन वा सुनुवाइ अघि बढाउने भएमा प्राधिकरणलाई त्यस अवधिसम्म लाइन जोड्नलाई निर्देशन दिन सक्नेछ । आयोगले सुनुवाइ सकिएपछि दुवै पक्षलाई निर्णय सुनाउनुपर्नेछ, जुन दुवै पक्षले मान्नुपर्छ । यद्यपि, ३५ दिनभित्र उच्च अदालत पाटनमा पुनरावेदनका लागि जान सकिनेछ । 

गत वर्ष २५–२७ असारमा पनि प्राधिकरणले ६ उद्योगमा लाइन काटेको थियो । तर, ३० असार ०८१ मा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उद्योगीको बचाउ गर्दै प्राधिकरणलाई बक्यौता उठाउन असहयोग गर्यो । 

ओलीले लाइन जोड्न ठाडो मौखिक निर्देशन दिएका थिए । तर, प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक (हालका ऊर्जामन्त्री) कुलमान घिसिङले लिखित निर्देशन खोजे । त्यसपछि लाइन काटिएका उद्योगले नियोजित रूपमा ४ साउन ८१ मा आयोगमा उजुरी दिएका थिए । त्यसकै आधारमा आयोगले ६ साउन ०८१ मा लाइन जोड्न निर्देशन दिएको आयोगले अध्ययन सकिएपछि बक्यौता असुल गर्नुपर्ने भनेर निर्णय गरेको थियो । अहिले दुई उद्योगले पनि विवाद समाधानका लागि आयोगमा निवेदन दिएका हुन् । 

बक्यौता उठाउन खोज्दा तत्कालीन सरकारले ११ चैतमा बर्खास्त गरेका घिसिङ अहिले ऊर्जामन्त्री बनेका छन् । त्यसपछि उनी बक्यौता उठाउन लागिपरेका छन् । 
उद्योगहरूलाई लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४ घण्टासम्म विद्युत् दिइएको थियो । त्यसमा ६५ प्रतिशत थप शुल्क (प्रिमियम) लिने भनिएको थियो । तर, केही सीमित उद्योगीले प्रिमियम महसुल तिर्न पहिलादेखि नै आनाकानी गर्दै आएका छन् । 

पछिल्लोपटक प्राधिकरणले १२ असोजमा सार्वजनिक सूचना जारी गर्दै २ कात्तिकसम्मको अल्टिमेटम दिएको थियो । त्यसमा प्राधिकरणले २८ मासिक किस्ताको सुविधा दिने पनि बताएको थियो । त्यस अवधिमा बक्यौता रहेकामध्ये ३१ उद्योग सम्पर्कमा आएनन् । त्यसपछि प्राधिकरणले अदालतबाट अन्तरिम आदेश पाएका ६ बाहेक २५ उद्योगमा ४ र ७ कात्तिकमा गरेर लाइन काट्यो । लाइन काटिएपछि दुई उद्योग बक्यौता तिर्ने प्रक्रियामा आए भने २३ उद्योगमा लाइन काटिएकै अवस्था छ । अब २९ वटा उद्योग बक्यौता तिर्ने प्रक्रियामा आउन बाँकी छन् । 

केही ठुला उद्योगी लोडसेडिङमा त्यसरी विद्युत् प्रयोग नगरेको र प्रमाण दिए मात्रै प्रिमियम बक्यौता तिर्ने अडानमा छन् । प्राधिकरणले भने लोडसेडिङमा उद्योगीहरूले विद्युत् प्रयोग गरेको र टिओडी मिटर र लगसिटलगायतका प्रमाण पनि रहेको भन्दै बक्यौता असुल गर्न लागिपरेको छ ।

जनता पीडामा हुँदा उद्योगीलाई विद्युत् दिएका थियौँ : मन्त्री घिसिङ
ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत्को बक्यौता नतिर्न केही ग्राहकले भावनात्मक दबाब सिर्जना गरेकामा आफू सतर्क र सचेत रहेको बताएका छन् । बक्यौताबाट उन्मुक्ति दिए भोलिका दिनमा अन्य ग्राहकले पनि यसैगरी कर नतिर्ने जोखिम रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘म मेरो जिम्मेवारीबाट कहिल्यै पछि हट्दिनँ । जेन–जी पुस्ताले दिएको भ्रष्टाचार नियन्त्रण र सुशासनको जनादेश दृढताका साथ पूरा गर्नेछु । यो व्यक्तिगत अहंकारको विषय होइन, यो कानुनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताका लागि गरिएको इमानदार प्रयास हो ।’

सुझावित समाचार