नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा शाहीले बंगलादेशको नासरिन स्पोर्टस् एकेडेमीबाट खेल्ने भएकी छिन् । नासरिनले आगामी साफ महिला क्लब च्याम्पियनसिपका लागि अनुबन्ध गरेको दीपाले नयाँ पत्रिकालाई जानकारी गराइन् । ‘आगामी प्रतियोगिताका लागि अनुबन्ध भएको हो,’ उनले भनिन् ।
दीपा घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी छिन् । दीपा व्यावसायिक फुटबल खेल्न दोस्रोपटक विदेशी क्लब अनुबन्ध भएकी हुन् । यसअघि भारतको आइलिग खेल्न किक स्टार्स क्लबमा अनुबन्ध भएकी थिइन् । त्यसपछि घाइते हुँदा उनी एक वर्ष नै मैदान बाहिर रहिन् । रिकभरीसँगै राष्ट्रिय टिममा कमब्याक गरेकी दीपाले लगत्तै विदेशी क्लबमा सम्झौता गरेकी हुन् ।
दीपा नासरिनमा भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । उनीसँगै यसअघि नै पूजा रानामगर र समीक्षा घिमिरे पनि नासरिनले सम्झौता गरिसकेको छ । प्रतियोगितामा नासरिनसँगै नेपालबाट विभागीय टोली एपिएफ क्लब, भारतबाट इस्ट बंगाल, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानबाट कराँची सिटीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।