आन्दोलनरत नर्स र सरोकारवालाबिच सहमति भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न वार्तामा सहभागी स्वास्थ्यमन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, सरकारद्वारा गठित समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ संघकी अध्यक्ष, महासचिव, निजी मेडिकल कलेज, निजी अस्पतालका प्रतिनिधिहरूबिच समस्या समाधान गर्ने सहमति भएको हो।
शनिबार दिनभर वार्ता बसेर समाधान निकालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार नर्सका समस्या समाधान गर्न बनेको कार्यदलका सबै सदस्यले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार आइतबारदेखि नर्सहरूले आन्दोलन फिर्ता लिने र ठुला अस्पताल तथा मेडिकल कलेजले कात्तिक महिनादेखि सरकारीसरह तलब (३४ हजार ७३०) दिने सहमति भएको छ।