धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ।
धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बिच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित रूपमा गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो।
आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरू सकुशल छन्। उनीहरू विमानस्थलमा रहेका छन्। हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेकाे विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए।