तिलिचो बेस क्याम्पमा फसेका ११ जना पर्यटकको उद्धार

शनिबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ। 

सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यू ट्रेनिङ स्कुल(एमआरटिएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले उनीहरूको सफलतापूर्वक उद्धार गरेको हो । 

उद्धार गरिएका पर्यटकहरूमा एकजनाको खुट्टामा चोट लागेका, एकजना नौ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन्। सबैको अक्सिजन लेभल कम रहेको बताइएको छ।

उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै नौ घण्टाको यात्रापछि सम्पन्न भएको हो। पर्वतीय उद्धार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलोपटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्धार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले अश्विन महिनाको अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर)को सफल आरोहण गरेका थिए ।

सुझावित समाचार