प्रतिकूल मौसमका कारण सिमराका लागि उडेको जहाज काठमाडौं फर्कियो

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

शनिबार बिहानको प्रतिकूल मौसमका कारण देशका विभिन्न भागमा हुने आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन्। बिहानैदेखि देखिएको बाक्लो हुस्सु र दृश्यता कम हुँदा केही विमान अवतरण गर्न नसकी पुनः काठमाडौं फर्किन बाध्य भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) उपकरणीय उडान नियममार्फत उडान सञ्चालन भइरहेको छ। सिमरा विमानस्थलमा समेत आइएफआर जडान गरिएको छ । यही आइएफआरमार्फत विमान अवतरण गर्ने क्रममा मिस अप्रोचका कारण विमान पुनः काठमाडौं फर्कि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्यो  । 

सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले भने, ‘काठमाडौंबाट सिमराका लागि उडेको बुद्ध एयरलाइन्सको विमान आइएफआर प्रणालीको सहायतामा अवतरण गर्ने क्रममा मिस अप्रोच भएको हो। अवतरणको अन्तिम चरणमा पुग्दा विमानस्थल क्षेत्रको मौसम अचानक खराब भएपछि विमानले धावनमार्ग नजिकैबाटै पुनः उडान लिनुपर्यो।’

उनका अनुसार आइएफआर प्रणालीमा उडान गर्दा पाइलटले दृश्य संकेत होइन, उपकरणको सहायताले विमान उडाउन र अवतरण गर्न सक्छन्। तर, दृश्यता अत्यधिक कम हुँदा र मौसम अत्यन्तै अस्थिर भएपछि उपकरणीय सहायताले पनि सुरक्षित अवतरण सम्भव हुँदैन।

शनिबार बिहान ८: ३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिमराका लागि उडेको बुद्ध एयरलाइन्सको एटिआर–७२ विमान उडान नम्बर यू ४ ५५१ विमान सिमरा विमानस्थलमा अवतरण गर्न नसकी पुनः काठमाडौं फर्किएको हो। विमानमा रहेका यात्रुहरू सुरक्षित रहेका र विमान अवतरण गर्न नसकेपछि केही समयपछि पुनः अर्को उडान सञ्चालन गरिने एयरलाइन्स स्रोतले जनाएको छ।

सुझावित समाचार