यो साता सेयर बजार परिसूचक ९६.५३ अंकले बढेको छ । तिहारलगत्तै खुलेको नेप्से परिसूचक आइतबार २५०९.०४ विन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर बढेको बजार परिसूचक बुधबार ५.१७ अंकले घट्यो । तर, अन्तिम दिन बिहीबार ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा रोकिएको थियो ।
आइतबार दुई अर्ब ३६ करोडमा सीमित सेयर कारोबार अन्तिम दिनसम्म आइपुग्दा बढेर पाँच अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा ब्याजदर न्यूनतम कायम राखेको र नाफामा सुधार आएको तथा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरिरहेकाले सेयर बजारमा सामान्य आकर्षण बढेको देखिन्छ । त्यसबाहेक नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको २५ करोडको सीमा खारेज गरेसँगै बजार बढ्ने अपेक्षा लगानीकर्ताको छ । बजार पुँजीकरण ४३ खर्ब ४७ अर्ब रुपैयाँ कायम छ ।
