कर्णालीकी गार्मेन्ट उद्यमी

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण
  • तीन वर्षअघि दुई लाख लगानीमा सुरु भएको हिमालय गार्मेन्टले अहिले वार्षिक ५० लाखको कारोबार गरिरहेको छ

चन्दननाथ नगरपालिका–५ खलंगा, जुम्लाकी ४५ वर्षीया अम्बिका श्रेष्ठ गार्मेन्ट उद्यमी बनेकी छिन् । सीपसँगै कडा मिहिनेतले उनलाई उद्यमी बनाएको हो । द्वन्द्वकालताका उनका श्रीमान् गोपाल श्रेष्ठ खलंगा बजारमा फोटो स्टुडियो चलाउँथे । त्यतिवेला उनको फोटो स्टुडियो राम्रो चलेको थियो । 

श्रीमान्को मृत्युपछि घर–व्यवहार चलाउन उनलाई निकै सकस भयो । उनले संघर्ष गर्ने क्रममा सिलाइकटाइ तालिम लिइन् । सिलाइकटाइ सीपलाई एउटा आर्यआर्जनको माध्यम बनाइन् । उनले एक दशकभन्दा बढी समय सिलाइकटाइ पसल चलाउँदै प्रशिक्षण पनि दिइन् । उनी आफू मात्रै रोजगार भइनन्, आफूसँगै १३ वर्षको अवधिमा सात सय ८० जनालाई समेत सिलाइकटाइ तालिम दिएर सीप सिकाइन् ।

संघीयताअघि उनले सीप विकास कार्यालय जुम्लामा करार जागिर पनि गरिन् । त्यो जागिरअवधिमा उनले माथिल्लो कर्णालीको (जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पा) जिल्लामा सिलाइकटाइ तालिम दिइन् । त्यो सीप विकास कार्यालयको तत्कालीन कार्यक्षेत्र थियो । संघीयतापछि सीप विकास कार्यालय खारेजीमा परेसँगै उनको जागिर पनि गयो । जागिर गएपछि पुन: उनले सिलाइकटाइ पसललाई नै प्राथमिकता दिइन् ।

बिस्तारै बालबच्चा हुर्कंदै गए । १३ वर्षको अन्तरालमा उनले जुम्लाको सदरमुकाम खलंगामा ‘हिमालय गार्मेन्ट’ उद्योग सञ्चालन गरेकी छिन् । उनको उद्योगमा महिला मात्रै कालिगढ छन् । महिलालाई आर्थिक रूपमा सक्षम बनाएकी छिन् । जुम्लामै विभिन्न कपडाको डिजाइन, सिलाइकटाइ तथा बिक्री गर्ने लक्ष्यले विगत तीन वर्षदेखि उनले उद्योग सञ्चालन गरिरहेकी छिन् ।

अम्बिकाले सञ्चालन गरेको ‘हिमालय गार्मेन्ट उद्योग’ले नियमित १० जना महिलालाई रोजगारी दिइरहेको छ । महिलाले उद्योग व्यवसाय सञ्चालन गर्न सक्दैनन् भन्ने समाजको संकीर्ण सोच चिर्दै अम्बिकाले एउटा मेसिनबाट सुरु गरेको टेलरिङ व्यवसाय अहिले गार्मेन्ट उद्योगमा विकसित भएको छ ।

उद्योगमा काम गर्ने कालिगढ महिलाले मासिक अधिकतम ५५ हजार र न्यूनतम ३० हजारसम्म आम्दानी गर्दै आएका छन् । अम्बिका गार्मेन्ट उद्योग सञ्चालकसँगै साविक कर्णालीकी एक मात्र महिला प्रशिक्षक हुन् । उनले करिब १५ हजार महिलालाई सीप सिकाइसकेकी छिन् ।

‘मैले आफैँ सीप सिकाएका महिला अहिले कामदार छन्’ उनले भनिन्, ‘पिसका हिसाबले पारिश्रमिक लिन्छन् । विभिन्न टाइमको आफैँ रेट तोकिएको छ । बढी आम्दानी हुने भएकाले अधिकांश महिला ओभर टाइम काम गर्छन् । कसैले मासिक ५५ हजारसम्म कमाउँछन् । उद्योग सञ्चालन भएयता महिलाहरू आर्थिक रूपमा निकै सक्षम भइसकेका छन् ।’

जुम्लाका अधिकांश विद्यालयका पोसाक हिमालय गार्मेन्टमै निर्माण हुन्छ । विगतमा सुर्खेत नेपालगन्ज, बुटवलबाट कपडा मगाउनुपर्ने बाध्यता रहेकोमा अहिले जिल्लामै पाउन थालेपछि शिक्षकहरू खुसी छन् । चन्दननाथ नमुना माविका प्रधानाध्यापक टंक महत भन्छन्, ‘विगतमा विद्यालयको पोसाक, ट्र्याकसुट बाहिरबाट ल्याउनुपथ्र्यो । ढुवानीमै धेरै खर्च हुन्थ्यो । तर, अहिले जुम्लामै गार्मेन्ट उद्योग हुँदा खर्च मात्र बचेको छैन, गुणस्तरीय कपडा त्यो पनि भनेकै वेलामा पाएका छौँ ।’

कपडा निर्माणसँगै ग्रामीण महिलालाई सीप सिकाएर उद्यमी बनाउने र रोजगार दिनेजस्तो उदाहरणीय काम अम्बिकाले गरेको उनको भनाइ छ । हजारौँ महिलालाई तालिम दिएकी अम्बिका भन्छिन्, ‘हजारौँ महिलालाई तालिम दिएँ । तर, धेरैले अझै सीपको प्रयोग गरेका छैनन् । आफैँले तालिम दिएका जुम्लाका दिदीबहिनी त्यही सीपबाट आर्थिक रूपमा समृद्ध बनेको देख्दा खुसी लाग्छ ।’

झन्डै दुई लाख लगानीबाट सञ्चालन गरिएको हिमालय गार्मेन्ट उद्योगले वर्षमा ५० लाखभन्दा बढीको कारोबार गर्दै आएको छ । तीन वर्ष पहिला दुई लाख लगानीबाट गार्मेन्ट उद्योग खोलिएको थियो । बाहिरी बजारमा महँगोमा विद्यालय पोसाक ल्याउन बाध्य विद्यालयले गार्मेन्टबाटै कपडा लिन थालेपछि उद्योगको वार्षिक कारोबार ५० लाखसम्म पुग्ने गरेको अम्बिकाका छोरा सरोज श्रेष्ठले बताए । उनी प्लस टु पढ्दै गर्दा बुटवलको नसिप गार्मेन्टमा काम गर्थे ।

सम्पर्कमा आएकालाई बुटवलबाटै कपडा पठाउँथे । आमाले सीप पनि सिकेको र जुम्लामा सम्भावना देखेपछि गार्मेन्ट उद्योग खोलेको सरोज श्रेष्ठले बताए । उनले भने, ‘गार्मेन्ट उद्योग आमाको सोच र कल्पना हो । उहाँले महिलालाई आर्थिक र सीपमा सक्षम बनाउने हुटहुटी बोक्नुभएको छ । म सहायक पात्र हुँ । काममा सहजीकरण गर्ने र आर्थिक कारोबारको पाटो म हेरिदिन्छु । आमाकै सीप र योजना तथा उद्यमी महिलाको जोसले उद्योग राम्रो चल्दै छ ।’

जुम्लाजस्तो ठाउँमा १० जनालाई नियमित रोजगारी दिने कुरा सामान्य होइन । स्थानीय सरकारले रोजगारी नदिएको भन्दै पलायन हुने युवा बढिरहेका छन् । अर्कोतर्फ महिला आर्थिक रूपमा परनिर्भर छन् । यस्तो अवस्थामा १० जना महिलाले नियमित रोजगारी पाउनु सुखद पक्ष रहेको उनको भनाइ छ । हाल हिमालय गार्मेन्ट उद्योगले जुम्लाका ८३ वटा विद्यालयसँग सहकार्य गरेर काम गरिरहेको छ । एउटा विद्यालयले न्यूनतम पाँच लाखको अर्डर गर्ने गरेका छन् ।

अर्डरअनुसारका सबै कपडा डिजाइन हुने गरेको छ । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी पातारासी गाउँपालिकाले कपडा सिउन अर्डर दिने गरेको छ । आठै पालिकामा आफ्नो उत्पादन पुर्याउने उद्योगको योजना छ । अहिले ८३ विद्यालयको नियमित काम गरिरहे पनि जिल्लाभरिकै अर्डरअनुसार काम गर्न नसकिएको अम्बिकाको भनाइ छ ।

सुझावित समाचार