चरम खडेरीका कारण ढिलो धान रोपाइँ गरेका मध्य र पूर्वी नेपालका किसान बाली भित्र्याउने वेला बेमौसमी वर्षाका कारण मारमा परेका छन् । बुधबार रातिदेखि परेको पानीले कतिपय ठाउँमा काटिसकेको धान डुबाएको मात्रै छैन, पाकिसकेको धान पनि ढलेर डुबानमा परेको छ ।
विशेष गरी शुक्रबार मधेश र कोशीका तराईका जिल्लामा ठुलो पानी पर्यो । बढी धानखेती हुने सोही क्षेत्रमा बिहीबार साँझदेखि हावाहुरीसहित आएको वर्षाले काट्न ठिक्क भएको धान लडाएर क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । किसानले केही अगुवा (अगाडि रोपेको) धान भित्र्याइसकेको भए पनि पछुवा (पछि रोपेको) धान पाक्न लागेको छ ।
‘धान पाक्न लागेको थियो । हावाहुरीले ढलाएर पानीले भिजाएको छ । पाकेको धान पानीले मात्रै पनि ढल्छ,’ उनले भने, ‘हामी विवरण संकलन गरिरहेका छौँ । शनिबार पनि पानी परिरह्यो भने धानबालीमा पूर्ण क्षति हुन्छ । २० देखि ५० प्रतिशत क्षति त शुक्रबारसम्मकै अवस्थाले हुने देखिन्छ ।’
रोपाइँका वेला पानी नपर्दा झापामा गत वर्षभन्दा तीन हजार हेक्टर कम अर्थात् ७२ हजार चार सय हेक्टरमा मात्र रोपाइँ भएको थियो । त्यस्तै, असोजमा आएको वर्षासँगैको बाढीले ४६३.२४ हेक्टरमा लगाएको धानमा पाँच करोड ७५ लाखको क्षति पुर्याएको थियो ।
‘असोजको पानीले केही स्थानीय तहका किसानको धानमा मात्र क्षति पुर्याएको थियो । अहिले सबैतिरको धानबालीमा क्षति पुर्याएको छ,’ विष्टले भने ।
सिराहाको नरहा गाउँपालिका– १, देवीपुर तिलासीका किसान रामखेलाउन यादवले दुई दिन झरी पर्दा एक बिघामा लगाएको बासमती धान सोत्तर बनाएको गुनासो गरे । ‘रोप्ने वेला खडेरीले सतायो, अहिले पाक्नै लागेको धान ढलेर सोत्तर बनाएको छ । बिउ, मलको लगानी पनि नउठ्ने भयो,’ उनले पीडा सुनाए । हालै मात्र रोपेको आलु, मुसुरो, खेसरी, चना, आलसलाई पनि वर्षाले असर पुर्याएको उनको भनाइ छ ।
रामखेलाउनकै छिमेकी रामप्रित महतोले पनि डेढ बिघाको धान ढलेको सुनाए । ‘खडेरीका कारण ढिलो रोपाइँ गरियो, अहिले पाक्नै लागेको धान ढलेर थप क्षति पुर्यायो,’ उनले भने । गोलबजार– ९ का पूर्ववडाध्यक्षसमेत रहेका किसान रामपुकार कामतीले वर्षाले पाक्नै लागेको धान ढलेपछि क्षति पुगेको बताए । ‘रोप्ने वेलामा खडेरीको मारमा परेका किसान जसोतसो रोपेर हुर्काएको धान भित्र्याउने वेलामा बेमौसमी वर्षाको चपेटामा परेका छन्,’ उनले भने, ‘लामो खडेरीपछि रोपेको धान पाक्नै लाग्दा फेरि वर्षाले डुबायो ।’ मधेशमा साउनको अन्तिम सातातिर मात्र ठुलो पानी परेपछि धेरै किसानले धान रोप्न पाएका थिए ।
सिराहामा ८८.१७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख नरेन्द्रकुमार महासेठले बताए । उनका अनुसार मौसम सामान्य रहेको अवस्थामा प्राय: कात्तिकको तेस्रो सातादेखि धान कटाइ सुरु हुन्छ । तर, यस वर्ष ढिलो रोपाइँ भएकाले धान काट्न बाँकी थियो । ‘असार र साउन मध्यसम्म रोपिएको धान फाट्टफुट्ट कटाइ पनि सुरु भएको थियो । तर, वर्षाले पाक्नै लागेको प्राय: बासमती धान ढलेर क्षति भएको खबर आएको छ,’ उनले भने ।
त्यस्तै, उदयपुरमा वर्षासँगैको हावाहुरीले एक हजार ३४ हेक्टरको धानखेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख, वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवले धान भित्र्याउने वेला पानी र हावाहुरी चलेपछि क्षति पुगेको बताए । ‘काटेको धान पानीमै डुबेको गुनासो आएको छ । अग्लो धानका बोट हावाका कारण ढलेका छन्,’ उनले भने । उदयपुरको भित्रीमधेश क्षेत्र त्रियुगा, चौदण्डीगढी, बेलका, कटारी नगरपालिकामा धान भित्र्याउने समयमा वर्षा र हवाहुरी आएपछि धान ढलेको हो । उदयपुरमा १२ हजार ९२५ हेक्टरमा धान रोपाइँ भएको थियो ।
ठुलो वर्षा गराउने प्रणाली आज दिउँसोबाट बाहिरिने, भोलिदेखि घाम लाग्ने
बुधबार रातिदेखिको वर्षा आज शनिबारबाट थामिने भएको छ । बिहान मधेश र कोशी प्रदेशमा वर्षा भए पनि दिउँसोबाट ठुलो वर्षा गराउने न्यूनचापीय प्रणाली बाहिरिने मौसमविद्हरूले बताएका छन् ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षा रोकिएसँगै क्रमश: आकाश खुल्ने र आइतबारबाट देशभर घाम लाग्ने बताए । ‘पूर्वी भूभागमा शनिबार बिहान पनि पानी पर्छ । दिउँसोबाट पानी थामिए पनि त्यहाँको आकाशमा बादल हुन्छ,’ पौडेलले भने, ‘तर, काठमाडौंदेखि पश्चिमको क्षेत्रमा दिउँसोबाट आकाश खुल्छ । कतै घाम लाग्ने, कतै बादल हुन सक्छ । आइतबारबाट भने देशभर घाम लाग्छ ।’
महाशाखाका अनुसार शनिबार दिउँसो कोशीका थोरै स्थान तथा मधेश, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको आकलन छ ।