यसकारण जरुरी छ, दाँतको स्केलिङ

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

हरेक व्यक्तिले ६–६ महिनामा दाँतको चेकअप गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार आवश्यकता पर्यो भने मात्रै स्केलिङ गर्नुपर्छ । दाँतमा भएको फोहोरलाई मेसिनको सहायताले सफा गर्ने कार्यलाई स्केलिङ भनिन्छ । स्केलिङमार्फत  दन्तलेउ, दन्तपत्थरलगायत हटाउने गरिन्छ । हरेकपल्ट हामीले खाना खाइसकेपछि दाँतमा एक प्रकारको लेउ जम्मा हुन्छ, उक्त लेउलाई दन्तलेउ भनिन्छ । यदि नियमित रूपमा सफा गरिएन भने लेउ बढ्दै जान्छ । फलस्वरूप दन्तपत्थर हुन्छ । यसले बिस्तारै दाँत र गिजामा समस्या उत्पन्न गराउँछ । 

हड्डी र गिजाको तहसम्म इन्फेक्सन भएको हुन सक्छ, जसले दाँत हल्लिने अवस्थामा पुगेको हुन्छ । दन्तलेउबाट दन्तेढुंगा बनेर बसेको हुन्छ । त्यसलाई ब्रसले मात्रै सफा गरे हुँदैन । तल्लो भागसम्म सफा गर्नुपर्छ । कतिपय अवस्थामा गिजाको सर्जरी पनि गर्नुपर्ने हुन सक्छ । पूर्ण रूपमा दाँतको उपचार गरेपछि दाँत सिरिंगसिरिंग हुँदैन । 

सामान्यतया चिकित्सकले स्केलिङ गर्नुपर्छ भन्ने गर्छन् । तर, एक्सरे गरेर आवश्यक छ वा छैन, चेक गरेर मात्रै गर्नुपर्छ । कतिपय दाँतमा किरा लागे पनि नदेखिन सक्छ । राम्रोसँग समस्या पहिचान गरेर मात्रै स्केलिङ गर्नुपर्छ ।

स्केलिङ गरिसकेपछि सुरुमा दाँत सिरिंग हुन सक्छ । यो बिस्तारै आफैँ ठिक हुन्छ । तर, गिजा तल सर्दै गएको खण्डमा सिरिंग हुने क्रम नरोकिन सक्छ । यस्तो अवस्थामा भने थप जाँच गराउँदा राम्रो हुन्छ । दाँतमा जमेर बसेको फोहोरले दाँतको वरपर गिजा र हड्डीमा रोग उत्पन्न गराउँछ । गिजाको रोगका कारण दाँत हल्लिने, सिरिंग हुने, गिजाबाट रगत आउने, श्वास गनाउने आदि समस्या देखिन्छन् । यसलाई हटाउन स्केलिङ गरिन्छ ।

स्केलिङ सामान्यतया १२ वर्षको उमेरभन्दा माथिका जोसुकै व्यक्तिले गर्न सक्छन् । एकपटक दाँत स्केलिङ गरेपछि ६ महिनामा फेरि उपचार गर्नुपर्छ । त्यसपछि चिकित्सकको सल्लाहअनुसार एक वर्षमा एकपटक स्केलिङ गर्न सकिन्छ । दाँत सफा गर्दा दाँत चम्किनुका साथै गिजा र हड्डी बलियो हुन्छ ।

See More On

सुझावित समाचार