अग्लो पहाड, पहराको टुप्पोबाट खस्ने गंगा र जमुना झरना । गंगाजमुना माई, शिव मन्दिर, गुम्बा, मेलाका स्टलहरु, विभिन्न प्रकारका खेलहरु, सांस्कृतिक कार्यक्रम, वर्षातको समयमा छाता ओडेर मेला भर्न आउनेहरूको घुइँचो । १३ सय वर्ष पुरानो पहाडको खोचमा रहेको ऐतिहासिक महत्व बोकेको धादिङको गंगाजमुना मेला । यो गंगाजमुना मेला केवल धार्मिक आस्था मात्र नभएर संस्कृति, जनजीवन र विश्वासको संगम पनि हो।
पहाडको टुप्पोमा फैलिएको मेला, रंगीचंगी स्टल, पूजाआराधना, जाग्राम र झरनाको ठिहीमा भिज्दै आएका भक्तजनहरूको भीडले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ फुलखर्क अवस्थित गंगाजमुना मेला झरीमा पनि उत्साह देखिएको छ ।
झरना र गंगाजमुना माई धार्मिक तथा पर्यटकीय रूपले परिचित स्थल हो। देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गंगाजमुना माईको दर्शन गर्न ठूलो भिड लाग्ने गर्दछ। धादिङको उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ। गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान स्नान गरी पूजाआजा गरेका छन् ।
गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं, हाम्रो यही पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ ।
गंगाजमुना गाउँपालिका– ५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन् । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मागेको मनोकामना पुरा हुने विश्वास छ । भक्तजनले गंगाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास छ । त्यसैले पनि गंगाजमुनाको दर्शन गर्न र झरनामा नुहाउन भक्तजनहरुको भिड लाग्ने गर्दछ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ । ढुंगामै कुदेको मूर्तिले मन्दिरको थप सुन्दरता थपेको छ ।
एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गंगाजमुनाको दर्शन गरी फर्किने चलन छ। हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने विश्वास रहिआएको छ ।
मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौंलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन्। दुई दिनदेखि वर्षा भइरहेपनि गंगाजमुना मेला भर्न आउनेहरूको घुइँचो नै छ। तर वर्षातका कारण गतवर्षहरूमा जस्तो श्रदालुभक्तजनहरूको उल्लासमय उपस्थिति भने हुन नसकेको गंगा जमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए ।
एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै देखिन्छ। भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो भेषभूषा र पहिरनअनुसारको कला देखाउँछन्। जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष सांगीतिक कार्यक्रम आयोजनासँगै थप व्यवस्थित पार्न पलह गर्दै आएको छ। लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो ।
धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण र आकर्षक बनेको गंगाजमुना झरना र माई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।