हेलोविनको रातमा पहिलोपटक आयोजना गरिएको काठमाडाैं हरर फिल्म फेस्ट २०२५ शुक्रबार साँझ रसियन हाउस, कमलपोखरीमा सुरु भएको छ।
नेपाल फिल्म एन्ड कल्चर एकेडेमी (एनएफसिए)को आयोजना र रसियन हाउस तथा रुसको राजदूतावासको सहकार्यमा सुरु भएको काठमाडाैं हरर फिल्म फेस्ट २०२५ तीन दिन चल्नेछ।
महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधालाई अघि बढाउने उद्देश्य राखेको एनएफसिएका उपाध्यक्ष शिव पुरीले बताए। उद्घाटन समारोहमा महोत्सव निर्देशक रसिक पाठकले हरर सिनेमाको भावनात्मक र कलात्मक गहिराइबारे मन्तव्य राखे। ‘हरर केवल भूत र छायाको कुरा होइन। यो आफैँभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो,’ उनले भने।
मुख्य अतिथि तथा फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हेलोविन र नेपालका गठेमंगल र गाईजात्राजस्ता परम्परागत चाडबिच समानता उल्लेख गर्दै डर र साहसजस्ता भावनाहरू सार्वभौमिक रहेका बताए।