बंगालको खाडीमा उत्पन्न मोन्था चक्रवातको प्रभावले भएको वर्षा र हावाहुरीको कारण उदयपुरकाे एक हजार हेक्टरभन्दा बढी धानखेतीमा क्षति भएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा हालसम्मको प्रारम्भिक रिपोर्टअनुसार एक हजार ३४ हेक्टरको धानखेतीमा क्षति भएको हो ।
ज्ञान केन्द्र उदयपुरका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवका अनुसार जिल्लामा यस वर्ष १२ हजार ९२५ हेक्टरमा धानखेती भएको थियो । उनले भने, ‘धान थन्क्याउने समयमा परेको वर्षा र हावाहुरीको कारण हालसम्म एक हजार ३४ हेक्टरको धानखेतीमा क्षति भएको प्रारम्भिक रिपाेर्ट आएको छ ।’
उनले स्थानीय तहबाट क्षतिको विवरण संकलन भइरहेको बताउँदै धेरै स्थानहरूमा काटेको धान पानीमै डुबेको कृषकको गुनासो आएको पनि बताए । उनले भने, ‘अग्लो धानका बोटहरू हावाका कारण ढलेको छ, त्यसमा क्षति कम हुन्छ । पहाडी क्षेत्रमा घर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको जानकारी आएको छ ।’
जिल्लाको भित्री मधेशमा पर्ने त्रियुगा, चौदण्डीगढी, बेलका, कटारी नगरपालिका क्षेत्रमा धान भित्र्याउने समयमै वर्षा र हावाहुरी आएपछि धान ढलेको किसानहरूले गुनासो गरेका छन् । पडाडी क्षेत्रमा काटेको धान खेतमै भिजेको छ ।
स्थानीय पालिकाले क्षतिको विवरण संकलन गरिरहेको कृषि ज्ञान केन्द्रको भनाइ छ । यस मौसमी प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिएको छ । सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्ष राम्रो हुने बताइएको छ ।