अस्पतालको सेवा–सुविधामा सहज पहुँचको माग गर्दै ज्ञापन

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

सिराहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरूका लागि सेवा–सुविधामा सरल र सहज पहुँच स्थापित गर्नुपर्नेलगायतका माग गर्दै अस्पताल व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाइएको छ। 

लहान– ३ स्थित स्वतन्त्र नागरिक युवा समाजले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतो र मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झालाई १४ बुँदे ज्ञापनपत्र बुझाउँदै एक महिनाभित्र माग सम्बोधन गर्न भनेको हो। ज्ञापनपत्रमा स्थापनाकालदेखि नै अस्पतालको भवन रहेको जग्गा संस्थागत स्वामित्वमा ल्याउन पहलसहित अस्पताललाई प्रदेशकै नमुना बनाउन पहल गरिनुपर्ने उल्लेख छ। 

ज्ञापनपत्रमा अस्पतालमा रहेको रेडियोलोजीमा चिकित्सक नियमित रूपमा बस्नुपर्ने, अस्पतालपरिसरमा रहेको खुला व्यायामस्थललाई व्यवस्थित गरिनुपर्ने, प्रसूति वार्डमा बेडसंख्या थप गरिनुपर्ने, निःशुल्क र सशुल्क औषधि काउन्टरबाट औषधिको सहज उपलब्धतता हुनुपर्ने माग गरिएको छ।

त्यस्तै, निःशुल्क र स्वास्थ्य बिमा औषधिको छुट्टाछुट्टै काउन्टरको व्यवस्था, अस्पतालमा दैनिक कम्तीमा चारपटक सरसफाइ, अस्पतालमा कार्यरत चिकित्सक र सेवासहितको समय तालिकाको बोर्ड, बिलिङ काउन्टर थप, अस्पतालका मेसुले नियमित समय दिनुपर्ने माग गरिएको छ। ज्ञापनपत्रमा आकस्मिक कक्षको भवन निर्माणलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याइनुपर्ने र अस्पतालको क्यान्टिन थप व्यवस्थित र सरसफाइमा ध्यान दिइनुपर्ने माग गरिएको छ।

सुझावित समाचार