- ६ मार्च २०२३ को विश्वकप लिग २ मै युएईले अन्तिमपटक नेपाललाई ४२ रनले हराएको थियो । त्यसयता नेपालले लगातार पाँच खेलमा युएईमाथि जित निकालेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोलीले युएईसँग ३२ महिनापछि हारको सामना गरेको छ । दुबईमा चलिरहेको आइसिसी विश्वकप डिभिजन लिग २ मा युएईले बिहीबार नेपालमाथि सानदार पाँच विकेटको जित निकाल्यो । युएई ३२ महिनापछि नेपालमाथिको हारको ‘जिंक’ तोड्न सफल भएको छ । युएईले अन्तिमपटक नेपाललाइ ६ मार्च २०२३ मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको विश्वकप लिग २ मा नेपाललाई ४२ रनले हराएको थियो । त्यसयता नेपालले युएईलाई निराश बनाउँदै आएको थियो ।
यस अवधिमा नेपाल र युएईबिच पाँच अन्तर्राष्ट्रिय खेल भयो । यी पाँचै एकदिवसीय खेलमा नेपाल विजयी रह्यो । बिहीबारको खेलसँगै युएईविरुद्धको नेपालको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । सन् २०२६ को आइसिसी एकदिवसीय विश्वकपको छनोट रोडम्यापअनुसार लिग २ को ८७औँ खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २३३ रनको मध्य योगफल बनाएको थियो ।
प्रत्युत्तरमा युएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर २३७ रन जोड्दै महत्वपूर्ण २ अंक बटुल्यो । चालू सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपाल तालिकाको सातौँ स्थानमा छ । नेपाल र युएईले समान १८ खेल खेलेका छन् । नेपालले पाँच जित र ११ हार सामना गरी १२ अंक जोडेको छ ।
युएईले चार जित र १४ हार निकाली ८ अंक जोडेको छ । अंक तालिकामा युएई पुछारमै छ । शीर्ष स्थानमा अमेरिकाले २२ खेलबाट ३२ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डले ३० अंक हात पारेको छ । युएईसँगको हारपछि नेपालले नामिबियासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ ।
तालिकाको शीर्ष तीनमा रहने राष्ट्रले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता रक्षा गर्नेछ । अब, नेपालले आगामी शनिबार उत्कृष्ट फर्ममा रहेको अमेरिकासँग नै खेल्दै छ । नेपालले विश्वकप छनोटसँगै एकदिवसीय मान्यता रक्षा गर्न आगामी खेल जित्नुपर्ने दबाब छ ।
कप्तान रोहितको दोस्रो शतक
नेपालका कप्तान रोहितकुमार पौडेलले युएईविरुद्ध शतकीय इनिङ्सको योगदान दिँदा पनि जित दिलाउन सकेनन् । रोहितले १०९ रनको शतकीय इनिङ्स खेलेका हुन् । उनले १३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । सन् २०१७ मा एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालका लागि ५० ओभरको फम्र्याटमा दुई शतक प्रहार गर्ने रोहित पहिलो खेलाडी बनेका छन् ।
यसअघि नेपालका लागि एकदिवसीय खेलमा पूर्वकप्तान कप्तान पारस खड्का, कुशल भुर्तेल, अनिलकुमार शाह, आसिफ शेख, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक शतक बनाएका थिए । रोहितले अन्तिमपटक २५ मार्च २०२२ मा पपुवा न्युगिनीविरुद्ध १२६ रनको शतकीय इनिङ्स खेलेका थिए । करिअरकै पहिलो एकदिवसीय शतक उनले त्रिवि क्रिकेट मैदानमा बनाएका थिए । रोहित नेपालका लागि एकदिवसीय खेलमा हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान हुन् । उनले ०७५ साउनमा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । १५ वर्ष ११ महिनामा एकदिवसीय डेब्यु गर्दा उनी विश्वकै चौथो कान्छा खेलाडी बनेका थिए ।
कमजोर ब्याटिङ प्रदर्शन
महत्वपूर्ण प्रतिस्पर्धामा नेपालका लागि कप्तान रोहितबाहेक अन्यले गतिलो योगदान दिन सकेनन् । चौथो र पाँचौँ विकेटबाहेक अन्यमा नेपालको साझेदारी फितलो रह्यो । रोहितले आरिफ शेखसँग चौथो विकेटका लागि ७० रनको साझेदारी गर्दै नेपाललाई ६१–३ बाट १३१–४ को स्थितिमा राखे । त्यसपछि रोहितले उपकप्तान दीपेद्रसिंह ऐरीसँग ५४ रनको साझेदारी गरे । यो दुई साझेदारीबाहेक अन्य विकेटका लागि ठोस रन नबन्दा नेपालले युएईलाई चुनौतीपूर्ण योगफल प्रस्तुत गर्न सकेन ।
आरिफले ४२ बलमा दुई चौकाको सहयोगमा २७ तथा दीपेन्द्रसिंहले २८ बलमा २३ रनको योगदान दिए । रोहित इनिङ्सको ४७.६ ओभरमा आउट भए । करण केसीले आठ बलमा समान एक चौका र छक्का प्रहार गरी १३ रन बनाए । युएईका जाहिद अलीले ६ ओभरमा ४१ रन खर्चेर चार विकेट हात पारे । उनले इनिङ्सको अन्तिम ओभरमा करण र ललित राजवंशीको विकेट लिएका थिए ।
युएईको इनिङ्समा तीन बलियो साझेदारी
सहज लक्ष्य पछ्याएको युएईको ब्याटिङमा तीन बलियो साझेदारी बन्यो । आर्यान्स शर्माले ९८ रन बनाउँदै जितको आधार बनाए । ९८ बलमा १० चौका र ३ छक्कासहित शतकनजिक रहेका ओपनर आर्यान्सलाई सन्दीप लामिछानेले कट एन्ड बोल्ड गरेका थिए । अर्का ओपनर अलिसान सरफुले २६ बलमा ६ चौका र २ छक्कासहित ४५ रन जाडे । युएईका लागि अलिसान र आर्यान्सले पहिलो विकेटका लागि ६३ रन जोडेका थिए । राहुल चोपरा र आर्यान्सबिच तेस्रो विकेटका लागि ५४ रनको साझेदारी भयो । त्यसपछि मुहमद वासिम र आर्यान्सबिच तेस्रो विकेटका लागि ७६ रनको साझेदारी भएको थियो ।