प्रेरक प्रसंग : सुकरातको भविष्य र ज्योतिषी

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

एकजना ज्योतिषी केवल अनुहार हेरेर व्यक्तिको चरित्र बताउने दाबी गर्थे । एकपटक उनी घुम्दै जा“दा ग्रिसका चर्चित दार्शनिक सुकरातका अगाडि पुगे । त्यतिखेर सुकरात आफ्ना शिष्यलाई वरिपरि जम्मा गरेर बसेका थिए । सुकरातको विचार जति राम्रो थियो, उनी रूपमा उति नै कुरूप थिए । उनलाई पहिलोपटक देख्ने कुनै पनि अपरिचित मान्छेले उनी त्यति महान् विचारक हुन् भन्ने अनुमानसम्म गर्न सक्दैनथ्यो । 

अनुहार हेरेकै भरमा व्यक्तिको चरित्र बताउने दाबी गर्ने ज्योतिषीले सुकरातको अगाडि आइपुग्नेबित्तिकै भने, ‘यो मानिसमा क्रोध नै क्रोध भरिएको छ । यसको नाक हेर्दा यस्तै लाग्छ ।’ ज्योतिषीको यस्तो भनाइ सुनेर त्यस स्थानमा उपस्थित सुकरातका शिष्य आवेशमा आए । तैपनि, नडराई ती ज्योतिषीले अगाडि भने, ‘निधार र टाउकोको रचनाअनुसार यो मानिस निश्चित रूपले एक लोभी मानिस हुनुपर्छ । यसको चिउ“डोबाट थाहा हुन्छ कि यो मानिस अत्यन्त सन्की छ । यसको ओठ र दा“तको आकार हेर्दा लाग्छ, यो मानिस सदा देशद्रोहका लागि लालायित रहन्छ । यो सुनेर सुकरातले ती ज्योतिषीलाई राम्रो पुरस्कार दिएर बिदा गरे । सुकरातका शिष्य यो सब देखेर अचम्ममा परे ।

सुकरातले पनि शिष्यहरूको आश्चर्य बुझे । उनले तिनको आश्चर्य हटाउनका लागि भने, ‘सत्य लुकाउनु बेकार छ । ज्योतिषीले जति दुर्गुण बताए ती सबै ममा छन् । म त्यो सब स्वीकार गर्छु । ज्योतिषीले केवल एउटा भुल गरे उनले मेरो विवेकमा ध्यान दिएनन् । म आफ्नो विवेकको शक्तिले सबै दुर्गुणमा अंकुश लगाएर राख्छु । ज्योतिषीले यो बताउन भने बिर्सिए ।’

सुझावित समाचार