भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि स्वीकृत, अब विदेश घुम्न जाँदा देखाउनुपर्नेछैन दुईतर्फी टिकट, होटेल बुकिङ र पाँच सय डलर

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले भिजिट भिसासम्बन्धी सरल कार्यविधि बनाएको छ । बिहीबार स्वीकृत भएको कार्यविधिअनुसार अब भिजिट भिसामा विदेश जाँदा पासपोर्ट, भिसा र टिकटबाहेक अध्यागमन कर्मचारीले थप कागजपत्र माग्नेछैनन् । 

यसअघिको ६ बुँदे कार्यविधि संशोधन गरी तीनबुँदे बनाइएको हो। जसअनुसार ६ महिना अवधि भएको पासपोर्ट, गन्तव्य देशको भिसा र टिकट मात्र अध्यागमनले जाँच गर्नेछ । यसअघि दुईतर्फी हवाई टिकट, न्यूनतम पाँच सय अमेरिकी डलर र होटेल बुकिङसमेत देखाउनुपर्ने प्रावधान थियो । 

नयाँ कार्यविधि स्वीकृत भएको र अध्यागमन विभागले त्यसलाई कार्यान्वयनमा लैजाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिने तयारी गरेको छ ।  

दुईतर्फी टिकटका कारण पनि धेरै ठगी हुने गरेकाले एकतर्फी मात्र टिकटको प्रावधान राख्न लागिएको अध्यागमन विभागले जनाएको छ । त्यस्तै, होटेल बुकिङको कागजपत्र पनि जाँच गर्ने प्रणाली नभएकाले त्यसलाई अनिवार्य बुँदामा राखिएको छैन । पाँच सय डलरको प्रावधान अनावश्यक भएको भन्दै हटाइएको छ । सहज प्रावधान राख्दा वैदेशिक रोजगारीको उद्देश्यले भिजिट भिसामा धेरै विदेश जाने र उता समस्यामा पर्न सक्नेसमेत आकलन गरिएको छ । त्यसका लागि श्रम प्रक्रियालाई सहज बनाउने तथा विदेशस्थित संयन्त्रलाई सक्रिय बनाउने सरकारको तयारी छ ।  

अघिल्लो सरकारको समयमा गृह मन्त्रालयको समेत मिलेमतोमा भिजिट भिसामा विदेश जानेसँग दैनिक ५० लाखभन्दा धेरै असुली गरिएको खुलेको थियो । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेको छ । सो घटना बाहिरिएपछि विपक्षी दलको मागअनुसार सरकारले गठन गरेको समितिले पनि कार्यविधिलाई सरल बनाउन सिफारिस गरेको थियो । सोहीअनुसार नयाँ कार्यविधि बनेको हो । 

पूर्वमुख्यसचिव शंकरदास बैरागी अध्यक्षताको समितिले एक महिनाअघि प्रतिवेदन बुझाउँदै कार्यविधि संशोधन गर्न सुझाव दिएको थियो । समितिले श्रम स्वीकृतिलाई सरल बनाउन र विदेशस्थित सरकारी संयन्त्रलाई बलियो सुझाव दिएको थियो । 

भिजिट भिसाका नाममा दलालहरूले विभिन्न देश लगेर बेचबिखन गर्ने जोखिम रहेको भन्दै यसअघि सरकारले कडाइ गर्दै आएको थियो । शंकाको भरमा धेरैलाई अध्यागमनबाटै फर्काउने गरिएको थियो । जसकारण उनीहरू दलालमार्फत अध्यागमन कर्मचारीलाई पैसा बुझाएर जाने गर्दथे । खासगरी खाडी देश जानका लागि भिजिट भिसामा सेटिङ चल्दै आएको छ । प्रक्रियालाई सरल बनाएपछि भिजिट भिसामा हुने दलाली र असुली पनि रोक्ने गृह मन्त्रालयको योजना छ।

संगठित रूपमा असुली धन्दा चलेको खुलेपछि अख्तियारले तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जस क्रममा गृह मन्त्रालयको समेत संरक्षणमा उनले भिजिट भिसामा विदेश जाने र नेपालबाट उड्ने भारतीयसँग असुली धन्दा चलाएको खुलेको थियो। 

सो घटनापछि हाल भिजिट भिसामा विदेश जानेलाई केही सहज गरिएको छ । यद्यपि, कतिपय शंकास्पदलाई अध्यागमनले फर्काउने गरेको छ । हाल वस्तुगत कारणबाहेक कसैलाई पनि अध्यागमनले प्रस्थान अनुमति नरोक्ने गरेको विभागका निर्देशक टीकाराम ढकाल बताउँछन् । ‘फिजिकल र आर्थिक हैसियत हेरेर विदेश प्रस्थान रोक्दैनौँ,’ उनले भने। 

वैदेशिक रोजगारको उद्देश्यले धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेतलगायत देश जाने गरेका छन्। खाडी देशमा घरेलु कामदारमा जान नेपाली महिलालाई प्रतिबन्ध छ। जसकारण भिजिट भिसामा गएर उनीहरू त्यहाँ गएर घरेलु काममा लाग्ने गरेका छन्। यसरी जाने धेरैको उद्धार गर्नुपरेको ।  

यसअघि बालकृष्ण खाण गृहमन्त्री हुँदा भिजिट भिसासम्बन्धी १७ बुँदे मापदण्ड लागू गरिएको थियो। नारायणकाजी श्रेष्ठले ६ बुँदे मापदण्ड कार्यान्वयन गराएका थिए। अहिले तीन बुँदामा झारेर सरलीकृत बनाइएको छ। यसअघि अब विदेश जानेहरूले विमानस्थलमा झन्झट बेहोर्नुपर्नेछैन। तर, वस्तुगत कारण देखिएका भने अध्यागमन अधिकृतले प्रस्थान अनुमति रोक्ने सक्ने गृह मन्त्रालयका अधिकारी बताउँछन्। 

सुझावित समाचार