हमासको हमलामा मारिएकाहरूको काठमाडौंमा स्मृति, नेपालीसहित सबैको सम्झना

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

दुई वर्षअघि इजरायलमा हमास समूहको हमलामा मारिएका नेपालीसहित सबै पीडितको सम्झनामा बिहीवार इजरायली राजदुतावासले काठमाडौंमा स्मृति कार्यक्रम आयोजना गरेको छ । सन् २०२३ अक्टोबर ७ (२० असोज २०८०) मा हमास समूहले इजरायलमा गरेको हमलामा १० नेपालीसहित १२ सयभन्दा बढी इजरायली नागरिक मारिएका थिए । हमासको बन्धक अवस्थामा रहेका बिपिन जोशीको पनि गाजामै मृत्यु भएको यसपालि पुष्टि भएको थियो । 

‘यो आधुनिक इतिहासका सबैभन्दा अन्धकारमय दिनहरूमध्ये एक हो । त्यो दुःखद् दिनमा १२०० भन्दा बढी निर्दोष इजरायली र विदेशी नागरिकहरू मारिएका थिए, जसमा इजरायलमा कृषि तालिम कार्यक्रममा सहभागी ११ जना नेपाली विद्यार्थीहरू पनि परे’ इजरायली राजदूतावासले भनेको छ, ‘यीमध्ये स्व. बिपिन जोशीलाई ७ अक्टोबरमा जीवितै अपहरण गरिएको थियो । जसको अवस्था दुई वर्षसम्म हमासलाई पनि थाहा थिएन । हालै मात्र उनको मृत्युको पुष्टि भई राष्ट्रपति ट्रम्पको पहलमा भएको सम्झौतापछि उनको शव नेपालको कञ्चनपुरमा ल्याएर अन्तिम संस्कार भएको छ ।’ 

स्मृति कार्यक्रममा उच्चस्तरीय सरकारी अधिकारी, कूटनीतिक नियोगका सदस्य, पीडितहरूका परिवारका सदस्य सहभागी थिए । इजरायल दूतावासकी उपमिशन प्रमुख जनान बेबरले घटनाबारे जानकारी दिएकी थिइन् । हमासको हमलामा मारिएका स्व. दिपेशराज विष्टका आफन्त बसन्तराज विष्टले आफ्नो व्यक्तिगत पीडा, सहनशीलता र सम्झनाको कथा सुनाएका थिए । हमासको हमलामा बाँच्न सफल हिमाञ्चल कट्टेलले उक्त दिनको अनुभव सुनाएका थिए । भारतस्थित अमेरिकी यहूदी समितिका प्रतिनिधि अर्जुन हार्दासले आतंकवादविरुद्धको एकतामा जोड दिएका थिए । 

नेपालका लागि इजरायलका राजदूत  श्मुलिक आरिए बासले भने, ‘त्यो क्रूरतापूर्ण आक्रमणले हाम्रो जनताको भाग्यलाई स्थायी रूपमा जोडिदिएको छ। इजरायल सरकार पीडित परिवारहरूको साथमा दुःखसुखमा सँगै रहनेछ ।’ 

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलले शान्तिको कुनै विकल्प  नभएको बताए । ‘मलाई आशा छ कि हालै भएको शान्ति सम्झौताले क्षेत्रीय स्थायित्व ल्याउनेछ र पीडितहरूका लागि न्याय सुनिश्चित हुनेछ,’ पोखरेलले भने । 

कार्यक्रममा प्रसिद्ध इजरायली फोटोग्राफर जिभी कोहेनलगायतका कलाकारहरूले अक्टोबर नरसंहारपछि खिचेका तस्बिरहरू प्रदर्शन गरिएको थियो ।

सुझावित समाचार