एकादशी मेलाको तयारी पूरा

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण नदीकिनारमा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा लाग्ने एकादशी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । हरेक वर्ष हरिबोधनी एकादशीको अवसरमा यहाँ मेला लाग्ने गर्छ । अरुणनदी किनारमा १९८२ सालबाट सुरु भई निरन्तर मनाउँदै आएको एकादशी मेला यसपटक १००औँ वर्षमा प्रवेश गरेकाले शतवार्षिकी एकादशी मेला मनाउन एकादशी बजार व्यवस्थापन समिति, मनकामना सन्न्यास आश्रम र तुम्लिङटार स्पोर्टिङ क्लब संयुक्त रूपमा जुटेको छ । शनिबार हरिबोधनी ठुलो एकादशी पर्ने भएकाले त्यसको अघिल्लो शुक्रबार दिउँसैदेखि रातभर जाग्राम बसि मनकामनाधाममा मेला लाग्ने गर्छ ।

तुम्लिङटार स्पोर्टिङ क्लबका अध्यक्ष देवेन्द्र घिमिरेले यो वर्ष मेलाको सयौँ वर्ष पूरा भएकाले शतवार्षिकी एकादशी मेला शुक्रबार लाग्ने गरी तयारी भएको बताए । ‘बजार लाग्ने क्षेत्र, मन्दिर र नदी किनारलगायतको क्षेत्रको सरसफाई गर्याै, भक्तजनहरूको लागि बस्ने व्यवस्थापन, रातभर अँध्यारो नहोस् भनेर बिजुली व्यवस्थापन गरेका छौँ। सकेसम्म मेलालाई भव्य र विशेष बनाउन लागि परेका छौँ,’ घिमिरेले भने ।

एकादशी मेलाले स्थानीय पर्यटन प्रवर्द्धन, सामाजिक एकता सुदृढीकरण र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्य रहेको घिमिरेको भनाइ छ। धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र मनकामनाधाममा मेलाको भोलिपल्ट बिहान अरुण नदीमा स्नान गर्नेहरूको घुइँचो लाग्ने गर्छ । 

खाँदबारी नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा 
हरिबोधिनी एकादशीका अवसरमा खाँदबारी नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक बिदा दिएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको मनकामना तथा एकादशी मेलाको अवसरमा खाँदबारी नगरपालिकामातहतका कार्यालयहरू, सम्पूर्ण शैक्षिक संघसंस्थालगायत एक दिन सार्वजनिक बिदा दिइएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जनाएका छन्।
 

सुझावित समाचार