- राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेसहित एमालेका आठ, माओवादीका सात, एकीकृत समाजवादी, जसपा नेपाल र लोसपाका एक–एक र राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम गरी १९ सांसदको पदावधि २१ फागुनमा सकिँदै
२१ फागुनमा पदावधि सकिन लागेका राष्ट्रिय सभाका १८ सदस्यको ठाउँमा नयाँ सदस्य चयनका लागि सरकारले ११ माघमा निर्वाचन तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लागेका एकतिहाइ सदस्यको ठाउँमा पदपूर्तिका लागि निर्वाचनको मिति तोकेको हो । नियमत: पदावधि सकिनुभन्दा कम्तीमा ३५ दिनअघि निर्वाचन गरेर नयाँ सदस्य चुन्ने अभ्यास छ ।
५९ सदस्यीय राष्ट्रिय सभाको एकतिहाइ सदस्यको निर्वाचन प्रत्येक दुई वर्षमा हुने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार पदावधि सकिन लागेका १८ सदस्यका लागि निर्वाचनको मिति तोकिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
२१ फागुनबाट पदावधि सकिन लागेकाहरूमा एमालेबाट निर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेसहित विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहाल, प्रमुख सचेतक गोपाल भट्टराई, इन्दिरादेवी गौतम, देवेन्द्र दाहाल, भगवती न्यौपाने, शारदादेवी भट्ट र सुमित्रा बिसी छन् । त्यस्तै, माओवादीबाट निर्वाचित नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान छन् । एकीकृत समाजवादीका बेदुराम भुसाल, जसपा नेपालबाट मृगेन्द्रकुमार सिंह र लोसपाका शेखरकुमार सिंह छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको पनि पदावधि सकिँदै छ ।
संसद् सचिवालयका अनुसार १८ सदस्यका लागि निर्वाचन हुनेछ भने गौतमको ठाउँमा एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, पालिका प्रमुख र उपपप्रमुखहरू मतदाता हुन्छन् भने प्रदेश–प्रदेशमै मतदान हुन्छ ।
निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले आवश्यक तयारी अगाडि बढाएको छ । ‘अन्तिम मतदाता नामावलीको तयारी गरिरहेका छौँ । प्रदेशमा मतदान केन्द्र तोक्ने, निर्वाचन अधिकृत खटाउने, सामग्री व्यवस्थापन, मतपत्र छाप्नुपर्ने काम पनि अगाडि बढाउँछौँ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने ।