एनसेलले १० दिनमै २० नयाँ टावर सञ्चालनमा ल्यायो

दुई महिनाभित्र थप एक सय ७० टावर जडान गरिने

बिहिबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । ती स्थानका ग्राहकले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवा उपयोग गर्न सक्ने एनसेलले जनाएको छ । 

आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेश, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा फोरजी सेवाका टावरका साथ सुधार गरेको छ ।

एनसेलले मधेश प्रदेशमा १३ नयाँ टावर सञ्चालनमा ल्याएको छ । ती स्थान बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगन्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधवनारायण रहेका छन् । त्यस्तै, कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको बबियाबिर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् । 

बागमती प्रदेशको हेटौँडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ । ‘हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताअनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौँ । एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ ।

साथै, आगामी दुई दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौँ, जसले हाम्रा ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्नेछ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपंग दत्तले भने ।

फोरजी सेवा विस्तार र सुधार योजना अनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप एक सय ७० भन्दा बढी नयाँ टावर जडानका लागि काम गरिरहेको छ ।

See More On

सुझावित समाचार