जेन-जी आन्दोलनको क्षतिपछि मकवानपुर जिल्ला अदालत पूर्ण रूपमा सञ्चालनमा

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेको मकवानपुर जिल्ला अदालत बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। आन्दोलनपछि आंशिक रूपमा मात्र सेवा प्रवाह गर्दै आएको अदालतले आजदेखि सबै न्यायिक सेवा पुनः सञ्चालनमा ल्याएको हो।

कात्तिक १० गते सर्वोच्च अदालतको सफ्टवेयर प्रणाली पुनर्स्थापना भएपछि बुधबार जिल्ला अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले सम्पूर्ण सेवा नियमित गर्ने निर्णय गरेको थियो।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठ, शकुन्तला कार्की, निर्मला शर्मा र पूर्णिमा कोइरालासहितको बैठकले मुद्दा तथा पेसी व्यवस्थापन, मुद्दा दर्ता, मिलापत्र, प्रतिउत्तर दर्ता, प्यारोल निवेदन, रोक्का–फुकुवा, बयान लिने तथा तारेख दिने कार्यसहित सबै सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

जिल्ला अदालतका स्रेस्तेदार केशवराज कौशिकका अनुसार सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) पुनर्स्थापना भएपछि बिहीबारदेखि देशभरका सबै अदालतहरू पूर्ण रूपमा सञ्चालनमा आएका छन्। आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको आगजनीमा उक्त सर्भर नष्ट भएपछि डेढ महिनासम्म अदालतको सेवा ‘म्यानुअल’ रूपमा मात्र सञ्चालन भइरहेको थियो।

‘सर्भर पुनर्स्थापना भएपछि सबै अदालतका डाटा सुरक्षित रूपमा रिकभर भएका छन्,’ उनले भने, ‘अब सेवा पुनः आन्दोलनअघिकै लयमा फर्किएको छ।’ जेन–जी आन्दोलनपछि मकवानपुर जिल्ला अदालतमा भदौ मसान्तदेखि थुनुवा म्याद थप, पक्राउ अनुमति, बयान तथा थुनछेक आदेशजस्ता अत्यावश्यक सेवा मात्र सञ्चालन हुँदै आएका थिए । असोज २१ गतेबाट अदालतले थप १३ प्रकारका सेवा विस्तार गरेको थियो ।

आगजनीका क्रममा अदालतका सातवटा चालू मिसिल र ५३४ वटा अभिलेख मिसिल जलेर नष्ट भएका थिए। अहिले अदालत भवन र अभिलेख प्रणाली पुनः व्यवस्थापनपछि सम्पूर्ण सेवा पुनः सञ्चालनमा आएको छ।

सुझावित समाचार