बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को असरका कारण नेपालका अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको छ । शनिबार बिहानसम्मै वर्षा हुने मौसमविद्ले बताएका छन् ।
कोशी, मधेश, बागमती, गण्डकीमा चक्रवातका कारण वर्षा भइरहेको छ । लुम्बिनीका केही जिल्ला पनि प्रभावित भएका छन् । मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको चक्रवात उत्तर–उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भू–भागमा बुधबार भित्रिएको हो । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यका लगायत स्थानमा निरन्तर वर्षा भइरहेको छ । मौसकविद् विनोद पोखरेल वर्षा निरन्तर २४ घन्टा हुने अवस्था देखिएको बताउँछन् ।
यो प्रणालीले शनिबार बिहानसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीको मौसम प्रतिकूल हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबारभन्दा शुक्रबार ठुलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् ।
‘बुधबार साँझबाट बादल प्रवेश गरे पनि बिहीबारबाट वर्षा हुने देखिन्छ,’ उनले भने, ‘शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा देखिन्छ ।’ शुक्रबार कोशीका तराई र मधेश तथा बागमतीका केही स्थानमा ठुलो वर्षा तथा कोशी र बागमतीका हिमाली क्षेत्रमा बाक्लो हिमपातको आकलन गरिएको छ । यो प्रणालीले कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा कर्णालीका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार लुम्बिनीको पश्चिमी क्षेत्र, कर्णाली र सुदूरपश्चिममा भने चक्रवातको असर पर्नेछैन । तर, त्यस क्षेत्रमा पश्चिमी वायुको असरले बादल लाग्ने र केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । शनिबार दिउँसोबाट मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।