- तीनपटकसम्म मिति घोषणा हुँदा पनि हुन नसकेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका सम्बन्धमा छलफल गर्न खेलकुदमन्त्री बब्लु गुप्ताले १९ कात्तिकमा राखेप बैठक आह्वान गरेका छन्
नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषयमा छलफल गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बोलाएका छन् । राखेपका अध्यक्षसमेत रहेका मन्त्री गुप्ताले १९ कात्तिक दिउँसो २ बजेका लागि परिषद्को १२३औँ बोर्ड बैठक बोलाएका हुन् । सुर्खेतमा हुने भनिएको प्रतियोगिता लगभग एक वर्षको अवधिमा तीनपटक स्थगित भएका छन् ।
गत वर्षको २ देखि ८ मंसिरसम्म पहिलोपटक प्रतियोगिताको मिति तोकिएको थियो । तत्काल राखेप र मन्त्रालयबिच समन्वयन नमिल्दा प्रतियोगिता नै स्थगित भयो । तत्कालीन खेलकुदमन्त्री तेजुलाल चौधरीले दोस्रोपटक २३–३० चैतका लागि प्रतियोगिताको मिति घोषणा गरेका थिए । यसपटक पनि स्थगित गरियो । त्यसपछि पनि ३–१० जेठमा आयोजना गर्ने गरी तेस्रोपटक मिति तोकिएको थियो ।
तर, चौधरीले गर्मीको समयमा सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिने बताउँदै स्थगित गरेका थिए । नवनियुक्त खेलकुदमन्त्री गुप्ताले प्रतियोगिता आयोजना गराउन बुधबारै राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई सबै सदस्यलाई उपस्थित गराउन निर्देशन दिएका छन् । घिसिङले बैठकमा सहभागी हुन एक साताअघि नै सवै सदस्यलाई पत्र काटेका छन् ।
‘लामो समयदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिएको अवस्था छ । यसबारे छलफल गर्न राखेपको बैठक बोलाएको हुँ,’ मन्त्री गुप्ताले नयाँ पत्रिकासँग भने, ‘बैठकपछि के हुन्छ जानकारी गराउँछौँ ।’ अघिल्ला खेलकुदमन्त्री चौधरीले पूर्वाधार र अर्थ व्यवस्थापनसमेत तयार हुँदा प्रतियोगिता आयोजना गर्न सकेका थिएनन् । सरकारले यसअघि प्रतियोगिता गर्न ६० करोड विनियोजन गरिसकेको छ । जेन–जी आन्दोलनपछि नियुक्त भएका मन्त्री गुप्ताले मन्त्रालयनिकटका सबै बैठक प्रत्यक्ष प्रसारण गरिने घोषणा गरिसकेका छन् ।
एन्फासँगको बैठक आज
मन्त्री गुप्ताले दुई वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगबारे छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई बैठकमा बोलाएका छन् । मन्त्री गुप्ताका अनुसार बिहीबार ११ बजे एन्फा पदाधिकारीबिच बैठक हुनेछ । एन्फाका पदाधिकारीसँगको बैठ पछि दिउँसो ३ बजे ‘ए’ डिभिजन खेल्ने १४ क्लबलाई छलफलमा सहभागी हुन निर्देशन दिइएको मन्त्री गुप्ताले जानकारी दिएका छन् । यसैबिच, एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा मुख्यालयमै हुनुपर्ने बैठक मन्त्रालयले बोलाउनु अनुचित नभएको प्रतिक्रिया दिएका छन् ।