लुक्ला अस्पतालको २० वर्ष : तीन लाख बिरामीले पाए उपचार सेवा

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

पासाङ ल्हामु निकोल निक्की अस्पतालले स्थापना भएको २० वर्षमा तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म गराएको छ । सगरमाथा आरोहणको सम्झनामा स्थापना गरिएको यस सामुदायिक अस्पतालले हिमाली क्षेत्रका स्थानीय र विदेशी पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार २५ शय्या क्षमताको अस्पतालमा दुई चिकित्सकसहित २५ जना कर्मचारी कार्यरत छन् । अस्पतालले २१ किलोवाटको हाइड्रोपावर र ९ किलोवाटको सोलार प्रणालीबाट विद्युत् गरिरहेको छ । 

अस्पताल सञ्चालनमा आएको २०औँ वर्षको अवसरकार आयोजित कार्यक्रममा प्रमुख अतिथि स्विस राजदूत डानिएला भेरोनिक मोलीले भनिन्, ‘हिमालको मुटुमा अवस्थित यो अस्पतालले दुई दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, जुन स्विट्जरल्यान्ड र नेपालको मैत्री सम्बन्धको उज्यालो उदाहरण हो ।’ 

खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ शेर्पाले अस्पतालले स्थानीय तथा पर्यटक दुवैका लागि जीवनरक्षक भूमिका खेलेको बताए । स्विट्जरल्यान्डबाट आएकी अस्पतालकी संस्थापक निकोल निक्कीले २० वर्ष कसरी बित्यो पत्तै नपाएको बताउँदै स्विस दाताद्वय रब र राल्फको सहयोगमा स्थापना भएको ‘जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’ले अस्पतालमा जन्मिएका प्रत्येक बालबालिकालाई कक्षा १० सम्म वार्षिक २२० स्विस फ्रांक छात्रवृत्ति उपलब्ध गराइँदै आएको जानकारी दिइन् । 

सुझावित समाचार