नेपालको राजनीतिमा आजको सबैभन्दा ठुलो प्रश्न हो– अब के नयाँ सम्भावना बाँकी छ ? तीन दशक लामो लोकतान्त्रिक अभ्यासले देशलाई स्थिरता, सुशासन र समान अवसर दिन असफल भएको महसुस जनतामा गहिरिँदै गएको छ । पुराना दलहरू, कांग्रेस, एमाले र माओवादीले लोकतान्त्रिक मूल्यलाई संस्थागत गर्नुको सट्टा देशलाई दल, गुट र स्वार्थको बन्दी बनाएका छन् । यी दलभित्रको वैचारिक शून्यता, अवसरवादी गठबन्धन र वैयक्तिक प्रभुत्वले जनतामा नयाँ विकल्पको तीव्र चाहना जगाइरहेको छ । नेपालमा वैकल्पिक राजनीतिक शक्ति जन्मिन धेरैपटक प्रयास भए, तर हरेक प्रयास कुनै न कुनै स्वार्थ, अहंकार र असंगत व्यवहारको जालोमा अल्झिए । अब प्रश्न उठ्छ– के हामी फेरि एकपटक, तर यसैपटक सही बाटोमा उभिएर वैकल्पिक राजनीतिक शक्ति जन्माउन सक्छौँ ?
विश्वमा वैकल्पिक सोचका उदाहरण
विश्वका धेरै मुलुकमा पुराना पार्टीको जब्बर राजनीतिका बिचमा नयाँ शक्ति उदाएका उदाहरण थुप्रै छन् । फ्रान्समा इम्यानुएल म्याक्रोँको ‘रिनेसन्स’, इटलीमा फाइभ स्टार मुभमेन्ट, स्पेनमा पोदेमोस वा भारतमा अरविन्द केजरिवालको आम आदमी पार्टी (आप) यी सबै नयाँ सोच, नयाँ पुस्ता र संस्थागत सुधारको खोजबाट जन्मिएका दल हुन् । यी दलले सुरुमा विचार र व्यवहारको पारदर्शिताका कारण आमजनताको विश्वास जिते । तर, धेरैले शासनमा पुगेपछि व्यक्तिगत महत्वाकांक्षा र पपुलिजमका कारण आफ्नो चमक गुमाए । भारतमा केजरिवालको उदाहरण हेरौँ, उनको इमान र सक्रियताले दिल्लीमा नयाँ राजनीति जन्मायो, तर समयसँगै संगठनलाई ‘एक व्यक्तिकेन्द्रित’ बनाउनाले उनको विश्वसनीयता कमजोर बन्यो । राजनीति र शासनबिचको सन्तुलन गुम्दा नयाँ शक्ति पुरानै ढर्राको प्रतीक बन्दै गयो । युक्रेनमा भ्लोदिमिर जेलेन्स्कीको एक कलाकारदेखि राष्ट्रपतिसम्मको यात्रा विश्वकै निम्ति चमत्कारी राजनीतिक कथा हो । तर, उनको चुनौती, व्यक्तिगत लोकप्रियतालाई संस्थागत स्थायित्वमा रुपान्तरण गर्न सक्ने वा नसक्ने प्रश्नमा सीमित रह्यो । नेपालका लागि यी सबै उदाहरण चेतावनी र प्रेरणा दुवै हुन् ।
नेपालका विगतका प्रयास
नेपालमा वैकल्पिक राजनीति निर्माणको पहिलो ठोस प्रयास डा. बाबुराम भट्टराईले ‘नयाँ शक्ति’मार्फत गर्नुभयो । उहाँको त्यो वेलाको लोकप्रियता भोलि देख्न सक्ने क्षमताका कारण परिवर्तित २१औँ शताब्दीअनुसारको विचार नयाँ थियो, तर व्यवहार भने पुरानै भयो । माओवादी आन्दोलनका अवसर नपाएका र असन्तुष्ट नेताहरू हाबी भए । संगठन विचारभन्दा व्यक्ति र व्यक्तिकेन्द्रित स्वार्थमा केन्द्रित बन्यो । डा. भट्टराईको अत्यधिक महत्वाकांक्षा र अधैर्यले उहाँलाई एकपछि अर्को पार्टीतिर धकेल्यो, नेकपादेखि मधेशवादी हुँदै प्रचण्डसँगको पुनर्मिलनसम्म । परिणामस्वरूप, नयाँ शक्ति पुरानै संस्कारको पुनरावृत्ति मात्रै बन्यो ।
त्यसपछि विवेकशील–साझा दलले सुसंस्कृत र पारदर्शी राजनीति गर्ने ठोस प्रयास गर्यो । उज्ज्वल थापाजस्ता निष्ठावान् नेताको नेतृत्वमा सुरु भएको यो यात्रा, रवीन्द्र मिश्रको व्यक्तिगत महत्वाकांक्षामा अल्झिएर अन्तत: बिथोलियो । साझा–विवेकशीलको एकीकरण नै त्यसको पतनको नयाँ मोड बन्यो । यहीबाट नयाँ दलले सिक्नुपर्ने मुख्य पाठ हो– संवेदनशीलताविना एकता सम्भव हुँदैन ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदायो, रवि लामिछानेको लोकप्रियतामा आधारित एक नयाँ ऊर्जाका साथ । पत्रकारिताबाट आएका रविले जनतामा नयाँ आशा जगाए । तर, उपप्रधानमन्त्री र गृहमन्त्री बन्नका लागि प्रचण्ड–ओलीसँगको सम्झौताले ‘नयाँ पनि पुरानैजस्ता त रहेछन्’ भन्ने सन्देश फैलायो । उनको दृढ, मोटिभेसनल नेतृत्वमा शंका छैन, तर व्यवहारमा उनले पुरानै शैली दोहोर्याए । रास्वपाको मत र विश्वास उनको व्यक्तिगत लोकप्रियतामा बढी निर्भर भयो, संगठनात्मक गहिराइमा होइन । उनको विगतका कमजोरीको भार पार्टीले बोक्ने कि नबोक्ने द्वन्द्वमा पार्टी अल्झियो । यद्यपि, पुरानो शक्तिद्वारा गरिएको प्रतिशोधका बाबजुद उनले देखाएको इच्छाशक्ति र राजनीतिमा प्रवेश गरिसकेपछिको सक्रियता प्रशंसनीय छ । रास्वपाका २१ सांसदले संसद्मा गरेको मिहिनेत र देखाएको परिपक्वता एवं शालीनता अझै नयाँ राजनीतिक संस्कारको परिचायक बनेको छ ।
बालेन शाह : मौन विद्रोह र प्रतीकात्मक प्रभाव
कसैले माने पनि नमाने पनि बालेन शाह नयाँ पुस्ताको विद्रोहका प्रतीक बनिसके । उनको मौनता, आत्मविश्वास र प्रणालीप्रतिको असन्तुष्टि युवाहरूको आवाज बनेको छ । तर, राजनीति केवल ‘पर्दापछाडिको हस्तक्षेप’बाट सम्भव हुँदैन । यदि उनीजस्तै व्यक्तिहरूले संस्थागत राजनीतिभित्र प्रवेश गरे भने युवापुस्ताको ऊर्जालाई संरचनागत परिवर्तनमा रुपान्तरण गर्न सकिन्छ । बालेनले जनताको मन जितेका छन्, तर अब उनले ‘एक्लो अभियान’ होइन, संघर्षमा सहयात्रीहरूको संरचना बनाउनुपर्छ ।
नयाँ सोच र नयाँ समायोजनको खाँचो
अब नेपालमा आवश्यक भएको केवल नयाँ दल होइन, नयाँ संस्कार र सोच पनि हो । वैकल्पिक दल भन्नासाथ केवल ‘पुरानाको विरोध’ होइन, ‘नयाँ व्यवस्थाको निर्माण’ पनि हुनुपर्छ । त्यसका लागि आजको सन्दर्भमा एउटा ठुलो राजनीतिक पुनर्संरचना आवश्यक छ, रास्वपा, बालेन शाह र उनको टिम, जेन–जी आन्दोलन र त्यसपछि उदाएका युवा नेताहरू, कुलमान घिसिङ, सुदन गुरुङलगायत देशभक्त र इमानदार पात्रहरू, साथै पुराना दलका अवसर नपाएका योग्य र सक्षम नेताहरू, यी सबै एकै ठाउँमा आउन जरुरी छ । यस्ता विविध स्रोत र दृष्टिकोणलाई मिलाएर मात्रै जनताले खोजेको आशालाग्दो वैकल्पिक दल निर्माण गर्न सकिन्छ, जहाँ नीति स्पष्ट होस्, लक्ष्य ठोस होस् र राष्ट्र निर्माणको खाका व्यावहारिक होस् ।
यदि नयाँ सोच र परिवर्तन चाहने जेन–जी आन्दोलनका सहभागी, समर्थक र तिनबाट उदाएका पात्र अहिले एक ठाउँमा उभिन सकेनन् भने पुरानै दलका नेता पुन: हाबी हुनेछन् । अनि बदलाको राजनीतिले फेरि आफ्नै सन्तानलाई ‘अराजक’ वा ‘आतंककारी’का नाममा किनारा लगाउनेछ । त्यसैले यो समय केवल विकल्प खोज्ने होइन, एक भएर विकल्प बन्ने निर्णायक घडी हो । फेरि प्रतिशोध र बदलाको राजनीतिमा अलमलिनु भनेको देशलाई अस्थिरतातिर लैजानु हो ।
सुधारिएको कांग्रेस र विचारशील वामशक्तिको आवश्यकता
अर्कातर्फ, पुराना दलभित्र पनि रुपान्तरणको सम्भावना बाँकी छ । गगन थापा, विश्वप्रकाश शर्माजस्ता नेताले यदि कांग्रेसलाई संस्थागत सुधारको बाटोमा लैजान सके भने त्यो पनि एउटा बलियो वैकल्पिक ध्रुव बन्न सक्छ । त्यस्तै, वाम राजनीति पनि अब ‘नेता होइन, विचार’मा केन्द्रित हुनुपर्छ । कम्युनिस्ट आन्दोलनभित्रका सिद्धान्तमा आस्था राख्ने, तर व्यवहारमा साँच्चिकै जनमुखी र पारदर्शी नेताहरूले एक विचारशील, जिम्मेवार र लोकतान्त्रिक वाम ध्रुव निर्माण गर्न सक्छन् । दुवै धारले सन्तुलित लोकतन्त्रमा एक–अर्कालाई खबरदारी गर्ने शक्तिको भूमिका खेल्न सक्छन् ।
अबको बाटो : त्याग, एकता र स्पष्ट दृष्टिकोण
अब नयाँ राजनीतिको अर्थ ‘आफ्नो फोटोसहितको ब्यानर र जयजयकार’ होइन । त्यो हो, त्याग, इमान र राष्ट्रिय दृष्टिकोणको अभ्यास । रवि लामिछानेजस्ता नेताले आफ्नो विगतका गल्ती स्विकार्दै पुराना दलका भूत बोक्ने प्रवृत्ति त्याग्दै, सबै नयाँ शक्तिलाई मिलाउन सक्नुपर्छ । रास्वपाको संगठन र आशालाग्दो टिम, बालेनको साहस, कुलमानलगायतप्रतिको जनताको आशा र जेन–जी पुस्ताको दबाबसहितको समर्थन, यी सबैलाई एउटै मञ्चमा ल्याउन सके नेपालमा वैकल्पिक राजनीति केवल सपना होइन, सम्भावना बन्न सक्छ ।
ढिलो भइसक्यो, तर असम्भव छैन
नेपालमा जनताको भरोसा भत्किएको छ, तर आशा मरेको छैन । अबको राजनीति अहंकार होइन, सहयोगको हुनुपर्छ । बालेनले मौनता तोडून्, रविले त्याग देखाउन सकून् र कुलमानसहितका देखिएका र नदेखिएका, नसुनिएका पात्रहरूले देशका लागि साँचो नेतृत्वको जिम्मा लिन सकून् । यदि यी सबै नयाँ सोच र शुद्ध उद्देश्यका पात्रहरू मिलेर संविधान संशोधन, संरचनागत सुधार र पारदर्शी शासनको स्पष्ट नक्सा लिएर अघि बढे भने नेपालले फेरि विश्वास जगाउन सक्नेछ, हो, नयाँ नेपाल सम्भव छ ।
(भुसाल सामाजिक विकासविज्ञ तथा सहकारीकर्मी हुन्)