सोमबारदेखिको वर्षा र हिमपातका कारण मुस्ताङमा तीन विदेशी र १२ नेपाली गरी १५ जना सम्पर्कविहीन भएका छन् भने गोरखामा तीन नेपाली र तीन विदेशी गरी ६ जना उद्धारको पर्खाइमा छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तीन बेलायती महिला पर्यटक र उनीहरूसँग गएका गाइड, भरिया, सहयोगी गरी १२ जना नेपाली बुधबार बिहान ११ः३० बजेदेखि सम्पर्कविहीन छन् । त्यस क्षेत्रमा मोबाइल र इन्टरनेट सेवाको पहुँच छैन । उनीहरूसँग भएको ट्राभल एजेन्सीको सञ्चार सेटमा बिहानसम्म सम्पर्क हुँदै आए पनि त्यसपछि सम्पर्कमा छैनन्।
धौलागिरि हिमाल सर्किटबाट फर्किँदै गरेका उनीहरू बुधबार ११ः३० बजेसम्म सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्कविहीन भएका लामाले जानकारी दिए । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे हिमालको ‘हिडन भ्याली’ आसपासबाट उनीहरू सम्पर्कविहीन भएका हुन् ।
उनीहरूको टोलीलाई उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिए पनि खराब मौसमका कारण कठिनाइ भएको उनले बताइन । काठमाडौँको सेक्रेट हिमालय ट्रेक एण्ड एक्स्पिडिसन ट्राभल एजेन्सीबाट एजेन्सीका १२ जना नेपालीसहित गएका तीन बेलायती पर्यटक सोमबारदेखिनै हिउँमा फसेका थिए । धौलागिरि हिमालको आधार क्षेत्र हुँदै उनीहरू मुस्ताङ प्रवेश गर्ने क्रममा आएको वर्षा र हिमपातका कारण बाटोमा फसेका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उनीहरूको उद्धारका लागि सडकबाट एक टोली गएको र मौसमले साथ दिए बिहीबार हेलिकोप्टरबाटसमेत उद्धार प्रयास हुने बताए । भुसालका अनुसार उनीहरू भएको स्थानसम्म पुग्न उद्धार टोलीलाई दुई दिन लाग्नेछ । समुद्र सतहबाट पाँच हजार एक सय मिटर उचाइमा रहेको ‘हिडन भ्याली’ क्षेत्रमा पाँच फिटभन्दा अग्लो हिउँ जमेको छ । साथै, निरन्तर हिमपात भइरहेकाले उद्धारमा कठिनाइ भएको उनले बताए। मुस्ताङ गएका अन्य पर्यटकहरूमा भने कुनै समस्या नभएको उनले जानकारी दिए।
यसैगरी, गोरखामा ६ जना उद्धार गर्नुपर्ने अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार चुमनुब्री गाउँपालिकास्थित पाङबारी भन्ने स्थानमा रहेका तीन नेपाली र तीन इटालियन पर्यटक अप्ठ्यारो अवस्थामा रहेकाले उद्धारको पर्खाइमा छन् । अप्ठ्यारो अवस्थामा रहे पनि हालसम्म सुरक्षित रहेको उनले बताए । आज उनीहरूलाई उद्धारको प्रयास भए पनि मौसम खराबीका कारण गर्न नसकिएको र बिहीबार हेलिकोप्टरमार्फत उद्धार गरिने श्रेष्ठले बताए । हाल जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकहरूलाई माथिल्लो क्षेत्रमा जान रोक लगाएको र माथिल्लो क्षेत्रमा भएका सबैजसो तल्लो अर्थात् सुरक्षित स्थानमा आइसकेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी मनोज बस्नेतका अनुसार जिल्लामा रहेका अधिकांश पर्यटक तिलिचो तालसम्म गएका र उनीहरूमध्ये अधिकांश तल झरिसकेको, बुधबार मात्र चार सयभन्दा बढी सुरक्षित स्थानमा आएका उनले बताए। हिउँका कारण बन्द भएका सडकहरू सञ्चालन गर्न सक्ने बनाइएकाले अधिकांश क्षेत्रका गाडी गएकाले पर्यटकहरू फर्केका र जसले गाडी पाएनन्। उनीहरू सुरक्षित तवरले होटेलहरूमा बसेकाले समस्या नरहेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार जिल्लास्थित अन्नपूर्ण आधार शिविर नर्थमा धेरै पर्यटक गए पनि उनीहरू सबै तल झरिसकेकाले समस्यामा कोही नरहेको जानकारी दिए।