शारीरिक अपांगता भएका सल्यानका बालबालिकाको पहिचान गर्न अभियान सुरु हुन लागेको छ। त्यस्ता बालबालिकाको जीवनमा नयाँ आशा र आत्मविश्वास जगाउने उद्देश्यसहित शारीरिक अपांगता पहिचान, परीक्षण तथा पुनर्स्थापनाका लागि अभियान सुरु हुन लागेको हो।
१८ वर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र पुनर्स्थापनाका लागि जिल्लाका तीन पालिकामा विशेष शिविर सञ्चालन हुँदै छ। कार्यक्रमअनुसार बागचौर नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र थारमारे, शारदा नगरपालिका–१, श्रीनगरको बहुउद्देश्यीय भवनमा र त्रिवेणी गाउँपालिकाको लुहाममा शिविर सञ्चालन हुनेछ।
गत वर्ष सञ्चालन गरिएको यस्तै शिविरबाट २८० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रका होमराज केसीले जानकारी दिए । तीमध्ये ३६ जनालाई सहायक सामग्री वितरण र १६ जनाको सफल शल्यक्रिया गरिएको थियो। यस वर्ष पनि बालबालिकाको सहजताको लागि घुम्ती शिविर सञ्चालन गर्न लागिएको उनको भनाइ छ। शिविरमा विशेष गरी आगोले पोलेर अंगहरू आपसमा टाँसिएका, खुट्टा वा हात कमजोर भएका, हड्डी भाँचिएका वा बांगो भएका, जोर्नी दुख्ने वा सुन्निने, ढाड बांगो हुने, हड्डी नजोडिएका बालबालिकाहरूको निःशुल्क परीक्षण गरिनेछ। यस्तै, औँलाहरू बढी वा टाँसिएका, कृत्रिम हात–खुट्टा आवश्यक परेका, हड्डीको टिबी रोग लागेका, ओठ–तालु फाटेका तथा अन्य हाडजोर्नीसम्बन्धी समस्या भएका बालबालिकाको पनि स्वास्थ्य परीक्षण र उपचार परामर्श दिइनेछ।
पुनर्स्थापना केन्द्रका अनुसार यस अभियानले शारीरिक अपांगता भएका बालबालिकाको पहिचान, उपचार र पुनर्स्थापनासँगै उनीहरूमा आत्मविश्वास पुनर्निर्माण गर्न उल्लेखनीय योगदान पुग्ने विश्वास छ।