समान काम, समान ज्यालाको माग गर्दै मकवानपुरमा पनि नर्सहरू आन्दोलित, बुधबारदेखि दुई घण्टा सेवा बन्द

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

समान काम, समान ज्यालाको माग गर्दै मकवानपुरका नर्सहरू आन्दोलित भएका छन् । नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलनको आह्वानअनुसार बुधबारदेखि मकवानपुरका नर्सहरूले बिहान १० देखि १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै विरोध प्रदर्शन सुरु गरेका हुन् ।

नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालका अनुसार माग सुनुवाइ नभएकाले आन्दोलनको दोस्रो चरण सुरु गरिएको हो । ‘कात्तिक ४ देखि ११ गतेसम्म कालोपट्टी बाँधेर सेवा दिए पनि सरकार मौन रहेकाले हामी बाध्य भएर सेवा बन्द गर्नुपरेको हो,’  उनले भनिन् ।

उनका अनुसार नर्सहरूले कात्तिक १८ गतेसम्म हरेक दिन दुई घण्टा सेवा बन्द गर्ने निर्णय गरेका छन् । आन्दोलन मुख्यतः निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको न्यून तलब र श्रमशोषणविरुद्ध केन्द्रित छ । हाल सरकारले नर्सहरूको न्यूनतम तलब पाँचौँ तहका दरअनुसार ३४ हजार ७३० रुपैयाँ तोकेको भए पनि धेरै निजी अस्पताल र शिक्षण संस्थाले अत्यन्तै न्यून पारिश्रमिकमा काम गराइरहेको नर्सहरूको आरोप छ ।

नेपाल नर्सिङ संघले कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १५ बुँदे मागपत्र बुझाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । संघले दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गर्नुपर्ने, रात्रिकालीन, सार्वजनिक बिदा तथा चाडपर्वमा काम गरेबापत अतिरिक्त भत्ता दिनुपर्ने, योग्यता र अनुभवका आधारमा बढुवा र ग्रेड प्रणाली लागू गर्नुपर्नेलगायतका मागहरू राखेको छ ।

अध्यक्ष दाहालका अनुसार सरकारले गठित कार्यदलले माग सम्बोधनमा पहल नगरे आन्दोलनका कार्यक्रम थप सशक्त बनाइनेछ ।

 

सुझावित समाचार